नेपालमा १०/१२ हजार सहकारी संस्था भए पुग्छ, मर्जरमा जानुहोस्: मन्त्री अर्याल




काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपालमा १०÷ १२ हजार सहकारी संस्था भए पुग्ने बताएकी छन् । उक्त संख्यामा सहकारी संस्था भएको खण्डमा देश हराभरा हुने र सरकारले सोचेको सम्बृद्धिमा साथ दिने बताइन् ।

राजधानी सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारीमा मर्जर विषायक छलफल कार्यक्रममा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । हाल नेपालमा ३० हजार भन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा छन् ।

सहकारीको संख्या घटाउन मर्जरमा जानु पर्ने उनको भनाई छ । यद्यपि, सरकारले घोक्रेठ्याक लगायत मर्जरमा जाउ भन्न नसकिने उनको तर्क छ ।

‘मर्जर गर्ने भनेको मन मिल्ने सँग हो, कामको प्रकृति, स्वभाव, स्वरुप, चरित्र मिल्ने, कार्यक्षेत्र मिल्ने सहकारी बीचमा मर्जर गर्ने हो, सहकारी संस्थाहरुलाई माथिबाट तपाईहरु मर्जरमा जानु पर्छ भनेर घोक्रेठ्याक लगाएर हुँदैन, मिल्ने वाताबरण बनाउने हाम्रो काम हो त्यो वाताबरण हामी बनाउँछौं, तपाईहरु आफैँ स्वतस्फुर्त रुपमा मिलेर आउनुहोस्,’ उनले भनिन् ।

मर्जरमा जाने सहकारीलाई सुविधा धेरै हुने, त्यसले पारदर्शीता बढ्ने, नियामक निकायलाई अनुगमन गर्न सजिलो हुने भएकाले पनि सहकारीमा मर्जर आवश्यक भएको उनको तर्क छ ।

कार्यक्रममा मन्त्री अर्यालले संस्था दर्ता हुँदैमा, समयमा नै साधारणसभा गर्दैमा २/४ हजार पैसा खेलाउने सहकारी संस्थाका अब काम नभएको बताइन् । अब सहकारी संस्था पनि उत्पादनमा जानुपर्ने र बजारिकरणमा जान आवश्यक रहेको उनको भनाई छ ।
अबको ५ वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान आवश्यक रहेको उल्लेख गर्दै सहकारी क्षेत्रबाट रोजगारी बढाउन पनि आवश्यक रहेको बताइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव गोपी मैनालीले सहकारीको मर्जलाई बिहेसँग तुलना गरेका छन् ।

‘सहकारीको मर्जर भनेको बिहे जस्तै हो, जो सँग मन मिल्छ उसैसँग गर्ने हो, यसरी भएको मर्जरले जीवनभर सँगै रहन सकिन्छ र त्यो भने स्वतस्फुर्त रुपमा हुनुपर्छ,’ उनले भने ।

सहकारी संस्थामा अनुगमन गर्न नसक्दा धेरै नै जोखिम बढेको भन्दै मर्जरमा जान आवश्यक रहेको तर्क गरे ।

मर्जरमा जाने भन्दैमा अहिले नै फोर्स मर्जरमा गईहाल्ने अवस्था नरहेको उनको सचिव मैनालीको भनाई छ । मर्जरमा गएपछि नाम राख्ने, नेतृत्व लिने जस्ता विषय पेचिलो बन्न सक्ने उनको भनाई छ ।


पुष्प दुलाल