आज कहाँ-कहाँ छ सार्वजनिक बिदा ?

क्लिकमान्डु २०७६ साउन ३० गते ९:५७ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार प्रकाशित सूचनामा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने जनाइएको छ ।

यसअघि साउन ८ गतेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’ पुस १० गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र माघ १ गते ९माघे सङ्क्रान्ति०मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सुदूरपश्चिममा सदियौैैँदेखि मनाइँदै आएको मौलिक सांस्कृतिक गौरा पर्वको बिदाका विषयमा भने प्रदेश सरकारले कुनै निर्णय नगरेकोप्रति स्थानीयको गुनासो बढेको छ । गौरा पर्वमा यसअघि विगतका वर्षमा सङ्घीय सरकारले गौरापर्व मनाइने क्षेत्रमा एक दिन सार्वजनिक बिदा दिने गरेको थियो ।

सांस्कृतिक पर्व गौरा र ‘ओल्के पर्व’मा बिदा दिने वा नदिने विषयमा सरकार अनिर्णित हुँदा मौलिक संस्कृतिको संरक्षण सम्वद्र्धनप्रति उदासिनता देखाइएको प्राध्यापक लेखराज ओझाले गुनासो गरे ।

जनैपूर्णिमामा तीन स्थानीय तहमा बिदा
यता, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र बाह्रबिसे नगरपालिकाले जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँ तथा नगरपालिकाले सूचना निकालेर बिहीबार रक्षाबन्धन र जनैपूर्णिमा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै जनैपूर्णिमाका अवसरमा पाँचपोखरी थाङ्पालमा रहेका ऐतिहासिक तीर्थस्थल पाँचपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको अध्यक्ष टाँसी लामाले जानकारी दिए ।

सोही दिन पाचँपोखरी तेस्रो हाफ म्याराथन प्रतियोगितासमेत आयोजना हुने भएकाले पनि गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए । जिल्लाका १२ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले मात्र बिदा दिने निर्णय गरेको छ ।

जनैपूर्णिमामा तेमालमा बिदा

यसैगरी, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको केन्द्रमा अवस्थित नारायणको मन्दिर परिसरमा जनैपूर्णिमाको अवसरमा परापूर्वकालदेखि नै जनैपूर्णे धार्मिकजात्रा हुने गरेका कारण स्थानीय बासिन्दाको उल्लेय सहभागिता रहने भएकाले बिहीबार सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले बताए ।

“नारायणस्थानमा लाग्ने धार्मिकजात्रा तेमालको सांस्कृतिक पर्वकै रुपमा विकास हुँदै गएको र तेमाललगायत छिमेकी गाउँपालिका/नगरपालिकादेखि अन्य जिल्लाबाटसमेत भक्तजनको उपस्थिति हुने भएकोले बिदा गरिएको हो”, गाउँपालिका अध्यक्ष तामाङले भने ।  रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स