गभर्नरलाई बैंकर्स संघको पत्रः स्प्रेड, काउन्टर साइकल बफर, बैंकासुरेन्स र उमेरमा यस्तो गरियोस्



काठमाडौं । गत साउन २० गतेको राष्ट्र बैंकको परिपत्रलाई लिएर राष्ट्र बैंकसँग असन्तुष्ट बनेका बैंकरहरुले सोमबार गभर्नर डा. चिरञ्जीबी नेपाललाई पत्र पठाएका छन् ।

गभर्नरसमेतको उपस्थितिमा भएको छलफलमा राष्ट्र बैंकका विभिन्न विभागहरुले पुनर्विचार गर्ने आश्वासन दिएको भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले साउन २७ गते गभर्नरलाई पत्र पठाएको हो ।

‘यस संस्थाको मिति २०७६/४/२२ मा सम्पन्न पूर्णबैठकबाट भएको निर्णय तथा त्यहाँबाट २०७६/४/२० मा जारी भएको निर्देशन (प.सं.नि.वि/नीति/परिपत्र/कखग/२/०७६/७७) को सम्बन्धमा श्रीमान गभर्नरको उपस्थितिमा श्रीमान् डेपुटी गभर्नरद्धय, नियमन, सुपरिवेक्षण, विदेशी विनिमय, अनुसन्धान लगायतका विभागीय प्रमुख ज्यूहरुको उपस्थितिमा यस संघको कार्यसमितिसँग भएको छलफलबाट निम्न कुराहरुको ब्याख्या तथा पुनर्विचार गर्ने आश्वासन भएकोमा श्रीमानमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं,’ बैंकर्स संघले गभर्नरलाई लेखेको पत्रमा उल्लेख छ ।

१, बैंक तथा वित्तीय संस्थाहरुको स्प्रेड गणनाविधिमा भएको परिवर्तनले समग्र वित्तीय स्यायित्वमा नै प्रभाव पर्ने यस संघको धारणामा श्रीमानबाट उक्त परिवर्तित विधि/शूत्र २०७७ असारमा मात्र लागू हुने र सो समयभन्दा अघि पूरानै विधि/शूत्र लागू हुने तथा मौद्रिक नीतिको त्रैमासिक समीक्षामा उक्त शूत्रलाई सम्पूर्ण ‘इन्ट्रेस्ट सेन्सेटिभ एसेट्स’ तथा ‘लाइविलिटिज’ लाई समावेश हुनेगरी व्यवस्था मिलाइने आश्वासन भएको ।

२, बजारमा देखिएको लगानी योग्य रकमको अभावले ब्याजदरमा पार्नसक्ने प्रभावलाई कम गर्न अन्तर बैंक सापटीलाई अझ फराकिलो बनाई स्रोत परिचालनमा गणना गर्नका लागि र काउन्टर साइकल बफरलाई एकैपटक उच्चतम विन्दूले नबढाइ क्रमशः लागू गर्दै जाने सन्दर्भमा यस संघका अध्यक्ष तथा बैंक तथा वित्तीय संस्था नियमन र बैंक सुपरिवेक्षण विभागले उचित सुझाब पेश गर्ने र सोही बमोजिम निर्देशन पुनरावलोकन गर्ने सहमति भएको ।

३, बैंककासुरेन्सका सम्बन्धमा यसलाई के कसरी व्यवस्थित गने भन्ने सन्दर्भमा बैंकर्स संघले उचित सुझाब पठाउने र सो का आधारमा पुनर्विचार गर्ने सहमति भएको ।

४, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुको उमेर हदका कारणले तत्काल पद समाप्त हुने अवस्थामा आफ्नो कार्यको ह्याण्डओभर तथा टेकओभरलाई उचित समय प्रदान गर्नू मनासिव हुने सहमति भएको ।


पुष्प दुलाल