मोदीलाई मुकेश अम्बानीले दिए राहत, साउदीबाट ७५ अर्ब अमेरिकी डलर भित्राउने



मुम्बई । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले भारतमा सबैभन्दा ठूलो बैदेशिक लगानी भित्राउने भएका छन् ।

अम्बानीले रिलायन्सको ४३ औं वार्षिक साधारणसभामामा साउदी अरबको अरामको कम्पनीले २० प्रतिशत हिस्सा खरिद गर्न लागेको जानकारी दिए । जसको मूल्य ७५ अर्ब अमेरिकी डलर हुने छ ।

‘यो घोषणा गर्दा मलाई निकै खुसी लागेको छ,रिलायन्सको इतिहासमा सबैभ्न्दा ठूलो विदेशी लगानीकर्ता मिलेको छ,रिलायन्स र अरामकोले दीर्घकालिन रुपमा साझेदारी गर्ने निर्णय गरेका छन्,’अम्बानीले सेयरधनीलाई सम्बोधन गर्दै भने ।

रिलायन्स इण्डष्ट्रीको विश्वमा सबैभन्दा ठूलो रिफानिङ कम्प्लेक्स छ । जसको उत्पादन क्षमता प्रतिदिन १४ लाख ब्यारेल रहेको छ । अरामकोले दैनिक ५ लाख ब्यारेल तेल दिने छ ।

अरामको साउदीको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी हो । जसको आम्दानीलाई लिएर भने आशंका हुने गरेको थियो । साउदीको राजकुमार सलमानले साउदीको अर्थतन्त्रमा परिवर्तन चाहेका छन् ।

तेल उत्पादक कम्पनीमा सबैभन्दा बढी नाफा गर्ने कम्पनी अरामको हो । सन् २०१८ मा अरामकोले १ खर्ब ११ अर्ब अमेरिकी डलर नाफा गरेको थियो ।

अरामकोले ५ प्रतिशत सेयर पब्लिकलाई बेच्ने योजना बनाएको छ । यो आइपिओ आएमा विश्वकै सबैभन्दा ठूलो आइपिओको रेकर्ड हुने छ ।

यो आइपिओ साउदीका राजकुमार मोहम्मद बिन सलमानको भिजन २०३० अन्तर्गतको योजना हो ।

अम्बानीले साधारणसभामा भारतको लागि यो सबैभन्दा ठूलो विदेशी लगानी भएको बताए ।

पछिल्लो समय भारतको अर्थतन्त्रमा मन्दी देखिएको छ । खास गरेर अटो क्षेत्रमा ठूलो मन्दी आएको छ । जसको कारण ३ लाख जनाले रोजगारी गुमाएको तथ्यांक भारतीय संचारमाध्यमले सार्वजनिक गरेका छन् ।

अम्बानीले सन् २०३० सम्ममा भारतीय अर्थतन्त्रको आकार १० ट्रिलियन डलरको हुने घोषणा गरेका छन् । ऐजेन्सी


क्लिकमान्डु