हवाई इन्धनको मूल्य घटाउन व्यवसायी गरे माग, विदेशी एयरलाइन्सले पनि भन्यो- साह्रै महंगो भयो



काठमाडौं । पर्यटन व्यवसायी तथा एयरलाइन्सका प्रतिनिधिहरुले नेपालमा हवाई इन्धन अत्यन्तै महंगो भएको भन्दै घटाउन सुझाव दिएका छन् ।

शुक्रबार पर्यटनमन्त्रीलाई सुझाव दिँदै पर्यटन व्यवसायी तथा एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुले नेपालमा हवाई इन्धन निकै महंगो भएको भन्दै त्यसलाई कम गर्न सुझाव दिएका हुन ।

सुझाव दिँदै हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नेपालमा १ टन इन्धनका लागि १०५० अमेरिकी डलर रहेको भन्दै उक्त मूल्य घटाउनुपर्ने बताए । उनले भने, ‘दिल्ली र बंगलादेशको तुलनामा नेपालमा निकै महंगो छ, यसलाई कम गर्नु आवश्यक छ ।’

सुझाव दिने क्रममा टर्किस एयरलाइन्सका नेपालका जनरल म्यानेजर अब्दुल्लाह टुनसेरले कार्यक्रममा बोल्दै नेपालमा हवाई इन्धन अत्यधिक भएको बताए । उनले अन्य देशको तुलनामा महंगो भएकाले त्यसो सोझो असर यात्रुमा परेको बताए ।

क्लिकमाण्डूसँग कुरा गर्दै उनले भने, ‘भारत, भियतनाम, श्रीलंका, चीन तथा इन्डोनेसियामा तेलको मूल्य ६३० अमेरिकी डलरदेखि ७५० अमेरिकी डलरको बीचमा छ, तर नेपालमा भने निकै महंगो छ ।’

उनका अनुसार टर्किस एयरलाइन्सका लागि काठमाडौंबाट टर्कीको इस्तानबुल जानका लागि ४० टन इन्धन खपत हुन्छ । जसका लागि ४२०० अमेरिकी डलर खर्च हुन्छ । जुन अन्य देशको तुलनामा ४० प्रतिशतभन्दा बढी हो ।

महंगो हवाई इन्धनले गर्दा हवाई उडान अत्यधिक भएको उनको भनाइ छ ।

उनले भने, ‘एकातिर हवाई इन्धन महंगो छ भने त्यसमा पाइलट खर्च, एयरक्राफ्ट खर्च, ग्राउन्ड ह्यान्डलिङ, नेभिगेसन चार्ज, ल्यान्डिङ चार्ज लगायतका शुल्कले उडान महंगो बनाएको छ ।’

हवाई इन्धनको मूल्य कम गर्नेबारेमा पर्यटन मन्त्रीले छलफल गर्ने बताए ।

पर्यटन मन्त्रालयका अनुसार हवाई इन्धन कम गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ । मन्त्रालयले हवाई इन्धन घटाउने सम्बन्धि प्रस्ताव मन्त्रि योगेश भट्टराई समक्ष पुर्याइसकेको छ ।

व्यवसायीहरुले लामो समयदेखि हवाई इन्धनको मूल्य घटाउनु पर्ने माग राख्दै आएका थिए ।


क्लिकमान्डु