सीइओ नियुक्ति भएको ४ दिनमै जागिर चैट !
काठमाडौं । गत शुक्रबार अर्थात् साउन १७ गते प्राइम बैंकको सञ्चालक समितिले नारायणदास मानन्धरलाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्यो ।
स्थापनाकालदेखि नै सीइओ रहेका मानन्धरलाई तेस्रो कार्यकाल सकिएपछि सञ्चालक समितिले चौथो कार्यकालका लागि सीइओमा नियुक्ति गरेको थियो ।
तर, मानन्धरले चौथो कार्यकाल सीइओ भएर ४ दिनमात्रै काम गर्न पाए । अझ भनौं पूणरुपमा त २ दिन मात्रै काम गरे । शुक्रबार उनको नियुक्ति भयो । शनिबार बिदा थियो । आइतबार र सोमबार उनले चौथो कार्यकालको लागि सीइओ भएर काम गरे ।
सोमबार साँझ साढे ५ बजे राष्ट्र बैंकले वेभसाइडमार्फत् बैंक सञ्चालक र सीइओको उमेरहद कायम गर्दै सर्कुलर जारी गर्यो । राष्ट्र बैंकको यो सर्कुलर जारी भएसँगै सीइओ मानन्धर स्वतः पदमुक्त भए ।
मानन्धर मंगलबार कार्यालय आएका छैनन् ।
‘राष्ट्र बैंकको सर्कुलरसँगै उहाँ स्वत पदमुक्त हुनुभयो, त्यसैले उहाँ कार्यालय आउनु भएको छैन,’ बैंक स्रोतले भन्यो ।
राष्ट्र बैंकले ६५ वर्ष पुगेको व्यक्तिलाई सीइओ नियुक्ति गर्न नपाउने र बहालवाला सीइओ भए ६९ वर्षभन्दा बढी पदमा बस्न नपाउने व्यवस्था गरेको थियो ।
प्राइमका सीइओ मानन्धर ७४ वर्षका थिए । त्यसैले राष्ट्र बैंकको परिपत्रसँगै उनी कार्यालय नआएका हुन् ।
राष्ट्र बैंकको यो व्यवस्थामा चित्त नबुझे अदालत गएर स्टेअर्डर ल्याए मात्रै उनी बैंकमा हाजिर हुन पाउँछन् । तर, उमेरले बुढो भइसकेकाले उनी अदालत गइहाल्ने सोचमा नभएको स्रोतले जानकारी दियो ।
प्राइम बैंक आजसम्म सीइओ मानन्धरकै रणनीतिमा अघि बढेको थियो । नेवार समुदायको बचस्र्व रहेको यो बैंकलाई अब नयाँ सीइओ खोज्ने तनाब निम्तिएको छ ।
‘राष्ट्र बैंकले कम्तिमा नयाँ सीइओ खोज्ने समय दिएर उमेरहद कार्यान्वयन गरेको भए हुन्थ्यो,’ एक सञ्चालकले भने, ‘आजको आजै कहाँबाट सीइओ पाउनू ?’