शेखर गोल्छासँग बार्गेनिङ गर्न ‘प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छान्नुपर्ने’ चण्डीको सिफारिस



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विधान संसोधन समितिका सभापति हुन् ।

ढकालले बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग बार्गेनिङ गर्ने ठूलो ठाउँ राखेर तयार भएको संसोधन प्रस्ताव तयार पारेका छन् ।

विधानअनुसार महासंघको कार्यसमितिले पारित गरेर सदस्यहरुमाझ विस्तृत छलफल गरेपछि मात्रै साधारणसभा बोलाएर विधान संसोधनको प्रस्ताव गर्न पाइन्छ । यो विधान पनि उनै ढकालकै संयोजनमा बनेको हो ।

तर, अहिले ढकालले आफैंले बनाएको विधानलाई उल्लंघन गर्दै एकैपटक कार्यसमितिलाई साधारणसभाको मिति तोक्न प्रस्ताव गरेका थिए ।

महासंघका पदाधिकारीहरुले यति संवेदनशील विषय साधारण सदस्यहरुसँग विस्तृत छलफल नगरी साधारणसभा बोलाउनु नहुने अडान राखेपछि चण्डीराज जिल खाए ।

शेखरसँग बार्गेनिङ गर्ने आफ्नो योजना तुहिएपछि आवेसमा आएर ढकालले महासंघ अध्यक्ष भवानी राणासमक्ष राजिनामा बुझाइसकेका छन् । उनको राजिनामा अहिले गुपचुप राखिएको छ ।

ढकाल अध्यक्ष रहेको विधान संसोधन समितिले ३५ बुँदे संशोधन प्रस्ताव कार्यसमितिमा पठाएको छ ।

समितिले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्दा महासङ्घको गरिमा अभिवृद्धि हुने हुँदा अध्यक्षको निर्वाचन गर्न उपयुक्त देखिएको कारणसमेत उल्लेख गरेको छ । यो भनेको अहिलेको बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भनेको हो ।

अहिलेको विधानले बरिष्ठ उपाध्यक्ष गोल्छा स्वतः महासंघको अध्यक्ष हुन्छन् । विधान संसोधन प्रस्तावमा बरिष्ठ उपाध्यक्ष गोल्छालाई स्वतः अध्यक्ष हुन नदिनेगरी संसोधन गर्न केही प्रस्ताव परेको छ । केही प्रस्तावहरु भने गोल्छालाई स्वतः अध्यक्ष हुन दिनुपर्ने छन् ।

‘गोल्छासँग ठूलो बार्गेनिङ गर्नका लागि चण्डीराजले बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुने प्रावधान हटाउन परेको संसोधन प्रस्तावलाई हतियार बनाएका थिए,’ महासंघका एक पदाधिकारीले भने, ‘महासंघको कार्यकारीणी समितिले विधान मिचेर एकैपटक साधारणसभाको मिति तोक्न नमानेपछि ढकालको योजना फेल खायो ।’

बैंकको ऋण नतिरेर कालोसूचीमा परेका ढकाल महासंघमा आफ्नो प्रवुत्व कायम राख्न चाहन्छन् । रमाइलो कुरा त के छ भने राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ कसूरमा मुद्दा अघि बढाउँछु भनेर चेतावनी दिएपछि ऋण तिर्ने पैसा नभएर छटपटाएका ढकाल यही मौका छोपेर बार्गेनिङमा खरो उत्रिएका हुन् ।

स्मरण रहोस् भवानी राणालाई अध्यक्ष वनाउने उदेश्यले बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउनेगरी विधान संसोधन गरिएको थियो ।


पुष्प दुलाल