कम्युनिष्ट आएपछि सेयर बजार घट्छ भन्नु गलतः पूर्वप्रधानमन्त्री नेपाल



काठमाडौं । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकार पूँजी बजारको विपक्षमा नभएको बताएका छन् ।

नेपाल पूँजी बजार लगानिकर्ता संघको दोस्रो साधारणसभा कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । नेकपाका वरिष्ठ नेता समेत रहेका नेपालले सेयर बजारको विकासमा सरकार सदैव तत्पर रहेको बताए ।

उनले भने ‘बजार विकासको लागि भनेर प्रधानमन्त्रीले मसँग कुरा गर्नु भएको छ, उहाँ बजारको विकासको पक्षमा नै हुनुहुन्छ, कम्युनिस्ट सरकार आएपछि बजार घट्छ भन्ने हल्ला चलेपनि त्यो निराधार हल्ला हो, हल्लाको पछि नलाग्नु ।’

नेता नेपालले सेयर बजारमा असर पर्ने कुनै पनि शब्द नबोल्न आग्रह गरेका छन् ।

उनले बैकको ब्याजदर बढी भएकोले सेयर बजारमा कम लगानी भित्रिएको दाबी गरे । उनले पूर्व अर्थमन्त्री रामशरण महतलाई लक्षित गर्दै बजार बिकासको लागि पूर्व अर्थमन्त्रीहरु आपसमा छलफल गर्न आग्रह गरे ।

नेता नेपालले भने, ‘महतज्यूले पनि धेरै बुझ्नु भएको छ, शंकर कोइराला पनि यहि हुनुहुन्छ, तपाईहरु बसेर बजारको विकासमा के गर्न सकिन्छ निचोड निकाल्नु ।’

नेता नेपालले आम्दानी गरेपछि राज्यले कर उठाउनै पर्ने भएकोले सबैलाई ईमान्दार भएर कर तिर्न आग्रह गरे ।

कार्यक्रममा पुर्व अर्थमन्त्री डा रामशरण महतले लगानीको लागि पूँजी निर्माण गर्ने आधार सेयर बजार भएकाले बजारको विकासमा सबै लाग्नुपर्ने बताए । बजारमा घटबढ हुनु सामान्य भएपनि एकैपटक धेरै घटबढ हुन थाले सबै सचेत हुनुपर्ने बताए ।

बजार घटेको समयमा मार्केट मेकरले हस्तक्षेप गर्नु पर्ने बताए । उनले भने ‘बजारमा मार्केट मेकरको भुमिका चाहिन्छ, उनिहरुले हस्तक्षेप गर्नैपर्छ ।’

नेतृत्वमा बस्नेहरुले सेयर बजारलाई कहिले जुवाघर भन्ने, कहिले अनुत्पादक क्षेत्र भनेर निरास बनेको बजारलाई चालू आबको बजेटमा पुजिगत लाभकर ७.५ बाट ५ प्रतिशतमा झर्नुले बजारको विकास हुने बताए ।

उनले भने  ‘यति हुँदाहुँदै पनि गैरआवासिय नेपालीलाई पूँजीबजारमा ल्याउने भनेको छ, तर पूँजी त लाभकर २५ प्रतिशत लिने रे यसरी को आउला लगानि गर्न ?’

कार्यक्रममा नेपाल राष्ट बैकका डेपुटि गभर्नर चिन्तामणि शिवाकोटीले नेपालको सेयर बजार स्थायित्व तर्फ गएको बताए । अघिल्लो वर्ष १२१२ मा रहेको सेयर बजार अहिले १२६० मा रहेकोले बजार स्थायित्व तर्फ नै रहेको बताए ।

बजारमा लगानि गर्नेले वित्तीय विवरण, नियम कानुनमा ध्यान दिनु पर्ने बताए । उनले भने ‘ राष्ट्रिय बैकको काम बजार बढाउने हैन, स्थायित्व कायम गर्ने हो,व्यवस्थापनको काममा सहयोग गर्ने हो ।’

कार्यक्रममा पूर्व अर्थमन्त्री शंकर कोइरालाले सरकारले बजारलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । बजारमा अझै पनि कानूनी सुधार आवश्यक रहेको बताए ।

कार्यक्रममा संघकी अध्यक्ष राधा पोखरेलले नियामकको गलत अभिव्यक्तिले बजारमा समस्या सृजना गरेको बताइन । साउन १ बाट बजार ढुङ्गे युगमा प्रवेश गरेको भन्दै यसले बजारको विकास नगर्ने बताइन ।


क्लिकमान्डु