भन्सारमा सवारी जाँचपासका लागि विशेष प्रविधि जडान गर्दैछौंः अर्थसचिव



Rajan Khanal,

काठमाडौं । अर्थसचिव राजन खनालले भन्सारमा सवारी जाँचपासका लागि विशेष प्रविधि जडान गर्न लागिएको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी कार्यक्रममा बोल्दै उनले विशेष प्रविधिको जडानपछि अनुगमन प्रभावकारी हुने बताए ।

उनले भने, ‘विषेश प्रविधि जडानपछि एकातिर भन्सारको अनुगमन प्रभावकारी हुनेछ, भने अर्कोतर्फ व्यक्ति आफैं भन्सार शुल्क बुझाउनु जानुपर्दैन, र सवारी छुटाउन पनि भन्सार गइराख्नु पर्दैन ।’

उनका अनुसार चोभारमा विशेष प्रविधि जडान गरिने छ । भन्सार शुल्क बुझाउनका लागि नेपाल राष्ट्र बैंकले असोजपछि ‘रियल टाइम सेटलमेन्ट’ लागू गरिँदै यसबाट घरमै बसेर पनि भन्सार तिर्न सकिन्छ ।

कन्ज्युमर रिफर्मको समस्या आफूले बुझेको उल्लेख गर्दैै खनालले निजी र सार्वजनिक क्षेत्र मिलेर मात्रै यसको समाधान गर्न सकिने बताए ।

विषेश प्रविधिको जडानपछि भन्सारमा हुने चोरी पैठारीको समस्या पनि न्यून हुनेमा उनले विश्वास व्यक्त गरे ।

साथै भन्सारमा देखिएको समस्या सुधारका लागि भेहिकल ट्रयाकिङ सिस्टमले पनि काम गर्ने उनले बताए । विषेश प्रविधिको जडानपछि क्यारेन्टाइनको काम, बैंकिङ प्रणालीको काम र चेकजाँचको काम प्रभावकारी हुने उनको भनाइ छ ।

खनालले मुलुकमा बढ्दो आयातलाई न्यूनिकरण गर्नका लागि उत्पादन बढाउनुपर्नेमा जोड दिँदै वित्त नीति पनि सोही अनुसार बनेको बताए । उत्पादन बढ्न नसकेको अवस्थामा अर्थतन्त्र धरासायी हुने उनको बुझाइ छ ।

‘अर्कोवर्षदेखि सिमेन्ट र क्लिङगरमा हामी आत्मनिर्भर बन्छौं र निर्यात गर्न सक्छौ, साथै माथिल्लो तामाकोसी पनि बनिसक्ने भएकाले भारतमा विद्युत निर्यात गर्न सक्छौं’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दशैं नजिकिँदै गरेकाले अनुगमनमा कालोबजारी ऐन आकर्षित हुने गरेकाले कालोबजारी ऐन आकर्षित नहुने गरी काम गर्नुपर्ने बताए ।

भन्सारलाई सुधार गर्नका लागि कुनै हाकिमले सामान छाड्ने र कुनै हाकिमले सामान रोक्ने परम्पराको अन्त्य होस भन्ने आफूले चाहेको समेत बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसमान मोरले देशमा उद्योग चलाउनका लागि एसेम्बिलिङको आवश्यक भएको भन्दै यसका लागि काम गर्नुपर्ने बताए । उनले यसबाट रोजगारी पनि सिर्जना हुने भन्दै यो अहिलेको आवश्यकता रहेको बताए ।

उनले राजस्व उठाउनका लागि भन्सार विन्दुमा भौतिक पूर्वाधारको तत्कालिन विकास गर्न आवश्यक रहेको समेत बताए । भन्सारमा हुने चोरी पैठारी रोक्नका लागि पनि यो आवश्यक रहेको उनको भनाइ छ ।

भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले साना भन्सार कार्यालयमा कर्मचारी टिकाउन गाह्रो भएको बताए । उनले यस्ता भन्सार कार्यालयबाट चोरी पैठारी बढेको र यसले राजस्व चुहावट भइरहेको बताए बताए ।

उनले गोष्ठीले उक्त समस्या समाधानका लागि सहयोगी बन्ने आशा समेत राखे ।


पुष्प दुलाल