मेची भन्सारको मुद्दा फछ्र्योटबाट मात्रै ३ करोड बढी राजश्व उठ्यो



भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷७५ बाट सरी आएका १७ तथा गत आव २०७५ र ७६ मा दर्ता भएका ५३२ गरी कूल ५४९ मुद्दामध्ये ५३० फछ्र्योट भएका थिए ।

झापाका विभिन्न नाकाबाट अवैध रूपमा हुने चोरीका मुद्दामा निकासी भन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायवसुब्बा छत्रबहादुर आले मगरले बताए । चोरीपैठारीमा यातायातका साधनदेखि मोटरपाट्र्स, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ताचप्पल लगायतका सामान रहेका छन ।

अवैधरूपमा हुने चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए । रासस


क्लिकमान्डु