मौद्रिक नीतिः बैंकासुरेन्समा कडाइ गरिँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले बीमा कम्पनीको एजेन्टकोरुपमा गर्दै आएको बैंकासुरेन्सलाई कडाइ गर्ने भएको छ ।

अहिले बैंकहरुले ग्राहकलाई बीमा पोलिसी किन्न तीब्र दबाब दिने गरेका छन् । यसलाई रोक्न बैंकासुरेन्समा कडाइ गर्न लागिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘बैंककासुरेन्समा ठूलो विकृति छ,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘मौद्रिक नीतिले यस्तो विकृतिलाई रोक्छ ।’

बैंकहरुले ग्राहकलाई जबरजस्ती गरेर बीमाको पोलिसी बिक्री गर्न थालेपछि व्यापक जनगुनासो आएको थियो ।

‘बैंकहरुले बैंकासुरेन्स अनिवार्य गरेर ग्राहकलाई बाध्यात्मकरुमा बीमाको पोलिसी किन्न लगाउने गरेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘मौद्रिक नीतिपछि बाध्यकारी गर्न पाइने छैन, स्वेच्छिकरुपमा मात्रै गर्न पाइन्छ ।’

बैंकासुरेन्सको विकृति नियन्त्रण गर्न राष्ट्र बैंकको अनुसन्धान विभागले ४/५ वटा उपाय उल्लेख गर्दै व्यवस्थापन समितिमा मौद्रिक नीतिको ड्राफ्ट पाइसकेको छ ।

‘माथिबाट कुन उपाय लगाएर बैंकासुरेन्समा कडाइ हुन्छ त्यो त हामीले भन्न सक्दैनौं,’ अनुसन्धान विभागका एक अधिकारीले भने, ‘यत्ति हो यो मौद्रिक नीतिले बैंकासुरेन्सलाई कडाइ चाहीँ गर्छ नै ।’

राष्ट्र बैंकले बैंकासुरेन्स गर्न पाउने नीति नै नल्याइ बैंकहरुले बीमा कम्पनीसँग सम्झौता गरेर धमाधम बीमा पोलिसी बिक्री गरिरहेका छन् । बीमा समितिले भने बीमा कम्पनीहरुलाई बैंकासुरेन्स गर्न प्रोत्साहित गरेको हो ।

‘ग्राहकले एकै ठाउँबाट बैंक र बीमाको सुविधा लिउन् भन्ने उद्देश्यले बैंकका सुरेन्सको अवधारणा अघि आएको हो तर अहिले विकृति बढेको गुनासो आएको छ,’ राष्ट्र बैंकका उच्च अधिकारीले भने, ‘हामी यसलाई नियन्त्रण गर्छौं, ग्राहकलाई जबरजस्ती गर्न नपाउने व्यवस्था गर्छौं ।’


पुष्प दुलाल