कञ्चनपुर भन्सारले राजश्व लक्ष्य भेटाउन सकेन, के भन्छन भन्सार प्रमुख ?



काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन ।

आव ०७५/७६ मा रु ४० करोड १२ लाख ६२ हजार राजश्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सारले रु ३६ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ ।

आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजश्व सङ्कलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए ।

“विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न भनेकाले पनि राजश्वमा गिरावट आयो”, प्रमुख भन्सार अधिकृत अधिकारीले भने, “तर विगतको भन्दा राजश्व सङ्कलनको दायरा पनि बढ्दै गएको छ ।”

अघिल्लो आवमा भन्सार कार्यालयले रु ३२ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरेको थियो । गड्डाचौकी भन्सारबाट पिना (तोरीको), अदुवा, राइस ब्रान र जडीबुटीमा तेजपात तथा रिट्ठा निर्यात हुने गरेको छ ।

गड्डाचौकीपारि भारतको सिमा क्षेत्रमा प्लाण्ट क्वारेन्टाइन नहुँदा पनि यहाँबाट निकासी कम हुने गरेको अधिकारीले बताए । गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामान, तरकारी, लत्ताकपडा र हार्डवेयर सामानहरु बढी मात्रामा आयात हुने गरेको छ । रासस


क्लिकमान्डु