पाकिस्तानले विदेशी विमानलाई आकाश खुला गर्यो, खाडी जाने नेपालीलाई भाडा सस्तो हुने



काठमाडौं । पाकिस्तानले विदेशी विमानलाई आफ्नो आकाश प्रयोगमा लगाएको प्रतिबन्ध हटाएको छ । मंगलबार सूचना जारी गर्दै पाकिस्तानले सबै प्रकारका विदेशी विमानका लागि आकाश खुला गरिएको जानकारी दिएको हो ।

पाकिस्तानले आजदेखि लागू हुने गरेर अन्तर्राष्ट्रिय विमानमा लगाउँदै आएको प्रतिबन्ध हटाएसँगै नेपाल एयरलाइन्सले पनि पाकिस्तानको आकाश भइ उड्ने पुरानो रुट प्रयोग गर्न पाउनेछन् ।

पाकिस्तानले आफ्नो हवाइ क्षेत्रमा प्रतिबन्ध लगाएसँगै काठमाडौंबाट दुबई, दोहा र ओमान जाने नेपाल एयरलाइन्सको जहाज नयाँ रुटबाट लैजान बाध्य थियो । जसले गर्दा विमानको लागत खर्च पनि महंगो भएको थियो ।

निगमनका अनुसार रुट परिवर्तन गर्दा २ देखि साढे २ टन इन्धन बढी खपत हुँदै आएको थियो । रुट परिवर्तन गरेसँगै नियमित उडानमा २५ मिनेट समय लम्बिएको थियो ।

जसको सोझो मार यात्रुको टिकट खर्चमा देखिएको थियो । रुट परिवर्तन गरेसँगै एयरलाइन्सले सस्तो दरका टिकट बिक्री रोकेको थियो । भने यात्रुले महंगो दरको टिकट मात्रै खरिद गर्न बाध्य थिए ।

विदेशी विमानमा लगाइएको प्रतिबन्ध हटाएसँगै नेपाल एयरलाइन्सले पनि अब पाकिस्तानी आकाश प्रयोग गरी दुबई, दोहा र ओमान जान पाउनेछ भने खर्च कम हुनेछ । जसले गर्दा यात्रुले पनि सस्तो दरका टिकटहरु पाउनेछन् ।

पाकिस्तानले भारत र पाकिस्तानबीच हवाई सैनिक आक्रमण र प्रत्याक्रमण भएपछि गत फेब्रुअरी २६ देखि आफ्नो हवाइ क्षेत्र विदेशी विमानका लागि प्रतिबन्ध लगाएको थियो ।

सबै प्रकारका विदेशी विमानलाई पाकिस्तानी आकाश प्रयोगमा प्रतिबन्ध लगाएको थियो । त्यस्तै, मार्च महिनामा आंशिक रुपमा आकाश खुला गरपनि भारतीय विमानमा भने प्रतिबन्ध कायमै राखेको थियो ।

त्यस्तै, भारतले पनि पाकिस्तानका विमानलाई भारतीय आकाश प्रयोगमा अझै पनि प्रतिबन्ध लगाएको छ ।


क्लिकमान्डु