क्लोजिङले रोक्यो मर्जरको चहलपहल



काठमाडौं । असार मसान्त अर्थात् आर्थिक वर्षको क्लोजिङ लागेसँगै बैंकहरुबीच मर्जरको चहलपहल रोकिएको छ । असार दोस्रो सातादेखि बैंकहरु एग्रेसिभरुपमा मर्जरको छलफल गरिरहेका थिए ।

असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीतिअघि नै मर्जरको लिखित प्रतिवद्धता राष्ट्र बैंकमा पेश गर्न बैंकका अध्यक्ष र सीइओलाई निर्देशन दिएका थिए ।

गभर्नरको निर्देशनपछि ग्लोबल आइएमइ बैंक र जनता बैंकबीच मर्जरको समझदारी भएको छ भने २२ वटा वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता बुझाइसकेका छन् ।

यो अवधिमा ८÷९ वटा बैंकहरु मर्जरका लागि तीब्र छलफलमा थिए । त्यो पनि केही दिनयता नभएको बैंकरहरु बताउँछन् ।

‘अहिले सबैको ध्यान क्लोजिङतिर छ, क्लोजिङ नसकेसम्म बैंकहरुलाई मर्जरको छलफल गर्ने फुर्सद छैन,’ बैंकर्स संघका अध्यक्ष समेत रहेका एनबी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘क्लोजिङ सकिएपछि मौद्रिक नीति पनि आउँछ, त्यसपछि फेरि मर्जरले तीब्रता पाउँछ भन्ने मेरो विश्वास छ ।’

प्राइम बैंकका सीइओ नारायणदास मानन्धर पनि अहिले क्लोजिङमा व्यस्त भएकाले मर्जरको छलफलका लागि समय दिन नसकिएको बताउँछन् ।

‘हामी पनि मर्जरमा तीब्र गतिमा छलफल गरिरहेका थियौं, केहीदिन यतादेखि क्लोजिङमा लाग्नु परेकाले मर्जरको छलफल गर्न सकिएको छैन,’ सीइओ मानन्धरले भने ।

प्राइमले आधा दर्जन वाणिज्य बैंकसहित एक दर्जन विकास बैंकसँग मर्जरको कुराकानी गरिरहेको थियो ।

सिभिल बैंकका एक सञ्चालकका अनुसार यो बैंकले पनि क्लोजिङका कारण मर्जरमा छलफल गर्न पाइरहेको छैन । सिभिल पनि मर्जरमा धेरैवटा संस्थासँग छलफल गरेको बैंक हो ।

सेञ्चुरीका सञ्चालकहरु पनि अहिले मर्जरको छलफल गर्न नभ्याइएको बताउँछन् । मेगाको पनि यही अवस्था हो ।

‘मर्जरको छलफल त अहिले स्थगित जस्तै भएको छ,’ कुमारी बैंकका एक सञ्चालकले भने, ‘क्लोजिङ र मौद्रिक नीतिपछि फेरि निरन्तरता दिइनेछ ।’

नविल, इन्भेष्टमेन्ट, एभरेष्ट, हिमालयन, एसबिआइ जस्ता ठूला बैंकले मर्जरको छलफल नै गरेका थिएनन् । गभर्नरको निर्देशनको रेस्पोन्स गर्दै राष्ट्र बैंकमा प्रतिवद्धता मात्रै पठाएका थिए । नविल बैंकले त अहिलेसम्म प्रतिवद्धता पनि पठाएको छैन ।


पुष्प दुलाल