नागरिक लगानी कोषले कहिलेदेखि शुरु गर्छ ‘स्टक डिलर’को काम ?



काठमाडौं । नागरिक लगानी कोषले ल्याउन लागेको स्टक डिलरको काम यतिबेला ‘पर्ख र हेर’को अवस्थामा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले म्यूचुअल फण्डहरुले पनि स्टक डिलरको काम गर्न सक्ने व्यवस्था गरेकोले कोषले यो कामलाई कसरी अघि लैजाने भन्ने अन्योलतामा नै रहेकोले पर्ख र हेरकै अवस्थामा राखिएको छ ।

कोषका कार्यकारी निर्देशक रमन नेपालका अनुसार अब डिलर सञ्चालन गर्नको लागि अब निकै अध्ययन नगरी नहुने र बिना अध्ययन थाल्दा कर्मचारीको खर्च मात्रै हुनेछ ।

उनले भने ‘हामीले अहिले हतारमा फण्डको रिक्स हुने गरी काम गर्नु हुँदैन, तै पनि हामीले सम्भाव्यता अध्ययन गरिरहेका छौं ।’

पहिले कोषजस्तै संस्थासँग गएर काम गर्ने योजना भएपनि अहिले अरुले पनि डिलरको काम गर्ने भएकाले आफू मातहतका निकायबाट कारोेबार गर्ने हो की भन्ने सोच पनि बनेको नेपालको भनाइ छ ।

उनले भने ‘हामीले हामी जस्तै संस्थाहरुसँग मिलेर काम गर्ने हो की भनेर छलफल गरेको हौं तर अब भने हाम्रो सोच परिवर्तन भएर आफू मातहतका निकायबाट कारोबार गर्ने योजना पनि बनाएका छौं ।’

उनका अनुसार अहिले पनि कोषले सेयर खरीद गरिहेको छ । बजारमा सेयर सस्तो भएको समयमा सेयर किन्ने क्रम जारी रहेको नेपालको भनाइ छ ।

उनले भने, ‘अहिलेसम्म कोषले किनेको सेयरबाट नाफा भइरहेको छ । अहिले हामीले सानो डिल गरेका छौं, भविश्यमा ठूलो डिल पनि गर्न सकिन्छ ।’

‘सेयर किन्दा अन्य लगानीकर्ता र कोषमा केही फरक हुन्छ’ नेपालले भने, ‘हामी बजारका कारोबारीसँग सतर्क भएर कारोबार गर्नुपर्छ, कारोबार गर्न नीतिले निर्देशित गर्ने भएकोले फण्डको सुरक्षामा निकै ध्यान दिनुपर्छ ।’

नागरिक लगानी कोष ऐन २०४७ संशोधनको क्रममा रहेकाले उक्त ऐन संशोधन भएपछि के गर्ने वा नगर्ने ? कतिसम्म गर्ने ? भन्ने उल्लेख भएर आएपछि मात्रै काम गर्न सजिलो हुने भएकाले ऐनको पर्खाइमा रहेको उनको भनाइ छ ।

कोषले डिलरको काम गर्ने हो भने सहायक कम्पनी खोल्नुपर्छ ।

करिब १० महिना अघि धितोपत्र बोर्डले कोषलाई डिलरको काम गर्नको लागि सहायक कम्पनी खोल्न निर्देशन दिएको थियो ।

बोर्डले उक्त निर्देशन दिएपनि यतिबेला कोष नै ‘पर्ख र हेर’को अवस्थामा पुगेपछि यो कामले पूर्णता पाउने वा नपाउने भन्नेमा अन्योलता देखिएको छ ।

यता नेप्सेले भने आफू डिलरको काम गर्न तयारी अवस्थामा रहेको जनाएको छ । नेप्सेका अधिकारीका अनुसार अनलाइन प्रणालीमा डिलरको काम गर्न सक्ने व्यवस्था छ ।

कोष पर्ख र हेरको अवस्थामा रहेपछि अहिले अन्य केही कम्पनीहरुसँग छलफल गरेर कम्पनी दर्ताको काम रोकिएको छ ।

आर्थिक वर्ष २०७२/०७३ को बजेटमा नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा बजारमा परिचालन गर्ने भनेपछि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा कार्यदल बनेको थियो ।

उक्त कार्यदलले कोषलाई कसरी काम गर्न दिने भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बनाएर बोर्डका अध्यक्षलाई बुझाइ सकेको छ ।

प्रतिवेदनमा यसको कार्यान्वयनका लागि कोष र नेप्सेले आवश्यक तयारी गर्दै जाने उल्लेख छ ।
यता कोष अन्य संस्थासँग सहकार्य गरे अघि बढने भन्दा पनि आफू मातहतबाटै सेयर किनबेच गर्ने सोच बनाउने भनेपछि अन्य कम्पनीसँग छलफल गर्ने विषयमा अन्योलता थपिएको छ ।

तर यसअघि नै कोषले डिलरका लागि भन्दै प्रबन्धपत्र र नियमावली समेत तयार पारिसकेको थियो ।

सेयर बजार घटिरहेको समयमा डिलरले केही हदसम्म बजार सन्तुलनमा ल्याउन सहयोग पुग्ने लगानीकर्ताहरुको भनाइ छ ।

बजारमा कोषका साथै कर्मचारी सञ्चयकोष, नेपाल दुरसञ्चार कम्पनी, बीमा संस्थानको संयुक्त लगानीमा स्टक डिलर सञ्चालन हुने चर्चा कायमै छ ।


पुष्प दुलाल