असार सकिनै लाग्दा एक चाैथाइ पनि भएन रोपाइँ



काठमाडौं । यस वर्ष धान रोपाइमा २९.१९ प्रतिशतले कमी आएको छ । कषि तथा पशुपन्छि विकास मन्त्रालय कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरले दिएको जानकारी अनुसार गत वर्ष असार २२ गतेसम्म ५२.९५ प्रतिशत रोपाइ भएकोमा यस वर्ष सोही अवधिमा २३.७६ प्रतिशत मात्रै भएको छ ।

असार सकिनै लाग्दा ढिलो गरी सक्रिय भएको मनसुनका कारण रोपाइ नभएको कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले बताए ।

उनले भने, ‘सिँचाइ हुने ठाउँमा भएको छ तर मनसुनमा भर पर्ने ठाउँमा हुन सकेको छैन्, तर अझै पनि आत्तिन पर्ने अवस्था आएको छैन, साउन १० गतेसम्म मनसुन राम्रो भयो भने उत्पादनमा नकारात्मक असर पर्दैन ।’

उनका अनुसार हाल नेपालमा २५ प्रतिशत क्षेत्रफलमा सिँचाइमार्फत रोपाइ हुन्छ । बाँकी क्षेत्रफलमा वर्षाको पानीमा भरपर्नुपर्ने अवस्था छ । यस वर्ष मनसुन ढिलो गरी सुरु भएकाले धान रोपाइमा कमी आएको उनले जानकारी दिए ।

गत वर्ष ५२.९५ प्रतिशत क्षेत्रफलमा रोपिएको धानबाट ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

उनका अनुसार अझै पनि १५ दिनसम्ममा मनसुस सक्रिय हुने हो भने उत्पादनमा असर गर्दैन् । किसानका लागि आवश्यक मल उपलब्ध भइसकेकाले अन्य कुराले असर नपर्ने उनको भनाइ छ ।

यस वर्ष सबैभन्दा बढी उच्च पहाडमा ३४.६४ प्रतिशत रोपाइ सकिएको छ । गत वर्ष उक्त क्षेत्रमा ६१.६५ प्रतिशत रापाइ सम्पन्न भइसकेको थियो ।

त्यसैगरी मध्य पहाडमा गत वर्ष ५५.६१ प्रतिशत रोपाइ भएकोमा सोही अवधिमा यस वर्ष जम्मा ३१.१५ प्रतिशत कम रोपाइ भएको छ ।

तराईमा पनि रोपाइ गत वर्षको तुलनामा कमी आएको छ । गत वर्ष यो अवधिमा ५१.५८ प्रतिशत रोपाइ भएकोमा तपाईमा यस वर्ष २०.६१ प्रतिशत मात्रै रोपाइ हुन सकेको छ ।

प्रदेश अनुसारले हेर्दा सबैभन्दा बढी रोपाइ कर्णाली प्रदेशमा ५१.४२ प्रतिशत भएको छ भने गत वर्ष सो प्रदेशमा ६५.८८ प्रतिशत रोपाइ सकिएको थियो । त्यस्तै, सुदुर पश्चिम प्रदेशमा गत यो वर्ष ४४.४१ प्रतिशत रोपाइ भएको छ तर गत वर्ष ८० प्रतिशत रोपाइ सकिएको थियो ।

प्रदेश नम्बर ५ मा यस वर्ष २९.५१ प्रतिशत रोपाइ भएको छ भने गत वर्ष ५६.१८ प्रतिशत रोपाइ भएको थियो । गण्डकी प्रदेशमा २८.५३ प्रतिशत रोपाइ भएको छ भने सोही अवधिमा सो प्रदेशमा ७२.२५ प्रतिशत रोपाइ भएको थियो । प्रदेश नम्बर ३ मा २० .९९ प्रतिशत रोपाइ सकिएको थियो भने गत वर्ष यो अवधिमा ४६.९३ प्रतिशत रोपाइ भएको थियो ।

प्रदेश नम्बर १ मा यो वर्ष १८.४५ प्रतिशत रोपाइ भएको छ भने गत वर्ष यो प्रदेशमा सोही अवधिमा ४१.५९ प्रतिशत भएको थियो । त्यस्तै, सबैभन्दा कम १०.२५ प्रतिशत रोपाइ भएको छ । जबकि गत वर्ष यो क्षेत्रमा ५३.५७ प्रतिशत रोपाइ भइसकेको थियो ।

 


क्लिकमान्डु