बैंकको ब्याजदर घटाउन व्यवसायीको लबिङ तीब्रः गभर्नर भेट्ने, यस्ता छन् २१ बुँदे माग



काठमाडौं । बैंकहरुको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीलाई समस्या परेको भन्दै व्यवसायीहरुले ब्याजदर एकल अंकमा राख्न दबाब बढाउन थालेका छन् ।

कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकले स्प्रेडदर गणना विधि परिवर्तन गर्ने

उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले भोलि (सोमबार) राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाललाई भेटेर ब्याजदर घटाउनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउने भएको छ । स्वीजरल्याण्डमा भएको बासलको बैठकमा सहभागी भएर गभर्नर नेपाल आज स्वदेश फर्किएका छन् ।

महासंघले आगामी मौद्रिक नीतिका लागि २१ बुँदे सुझाब राष्ट्र बैंक पठाइसकेको छ । मौद्रिक नीति यही असार २७ गते सार्वजानिक हुँदैछ ।महासंघको टोलीले गभर्नरलाई भेटेर उक्त २१ बुँदा कार्यान्वयनका लागि आग्रह गर्न लागेको हो ।

‘हामीले लिखित सुझाब त राष्ट्र बैंकमा बुझाइसकेका छौं,’ महासंघ अध्यक्ष भवानी राणाले क्लिकमाण्डूसँग भनिन्, ‘भोलि दिउँसो गभर्नरसाबले समय दिनु भएको छ, हामी उहाँलाई भेटेर हामीले दिएका सुझाब कार्यान्वयनका लागि आग्रह गर्छौं ।’

राष्ट्र बैंकले गत फागुनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै स्प्रेडको गणनाविधि परिवर्तन गर्ने भनेपनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन नसक्नु दुखद रहेको उनको भनाइ छ ।

ठूला बैंकसँग डरायो राष्ट्र बैंक, स्प्रेडको गणना विधि परिवर्तन गर्ने नीति कार्यान्वयन गर्न सकेन

‘बैंकले चर्को ब्याजदर असूलेको भन्दै व्यवसायीहरु आन्दोलित भएपछि राष्ट्र बैंकले स्प्रेडको गणनाविधि परिवर्तन गरेर चर्को ब्याजदर व्याजदर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो,’ अध्यक्ष राणाले भनिन्, ‘तर, अहिलेसम्म कार्यान्वयन नहुँदा उद्योगी व्यवसायीहरु मर्कामा परेका छन् ।’

गभर्नरसँगको भेटमा स्प्रेडको गणनाविधि किन कार्यान्वयन भएन ? भनेर जिज्ञासा राख्ने उनले जानकारी दिइन् ।

स्प्रेडको नयाँ गणनाविधिले बैंकहरुको १७ अर्ब बढी आम्दानी घट्ने, कुन बैैंकको कति घट्छ ? (सूचिसहित)

त्यतिमात्रै होइइन, महासंघले स्प्रेड दर ३ प्रतिशतमा झार्नुपर्ने माग राखेको छ ।

बैंकहरुको स्प्रेड बढी हुँदा व्यवसायीहरु मर्कामा परेको भन्दै यसलाई घटाउनका लागि गभर्नरसँगको भेटमा लबिङ गर्ने राणाले जानकारी दिइन् ।

अहिले बैंकहरुले ४.७५ प्रतिशतसम्म स्प्रेडदर लिँदै आएका छन् । महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाका अनुसार बैंकहरुको स्प्रेडदर घटाउनै पर्छ ।

बैंकको स्प्रेडदर ३ प्रतिशतमा झार्नुपर्छ: शेखर गोल्छा (भिडियाे)

‘बैंकहरुको पुँजी र कारोबारको आकार सानो हुँदा बढी स्प्रेड हुनु स्वभाविक थियो, तर अहिले बैंकको पुँजी र कारोबार दुबै बढेको छ, त्यसैले स्प्रेडदर घटाउनु पर्छ,’ गोल्छाले भने, ‘स्प्रेड नघटाउने हो भने चर्को ब्याजदरका कारण व्यावसायिक वातावरण बन्दैन ।’

राष्ट्र बैंकको नियमन विभागले स्प्रेडको गणनाविधि सम्बन्धी निर्देशनको मस्यौदा तयार पारिसकेको छ । तर, ठूला बैंकहरुको लबिङका कारण राष्ट्र बैंक व्यवस्थापनले उक्त निर्देशन कार्यान्वयनमा ल्याउन सकेको छैन ।

स्प्रेडको नयाँ गणनाविधि कार्यान्वयन हुँदा खासगरी वाणिज्य बैंकहरुमा पनि ठूला भनिएका बैंकलाई बढी असर पर्छ ।


पुष्प दुलाल