आफैं गल्ती गर्ने र मै ठीक भन्नु हुँदैन: गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । अपराध गरेकाहरुलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न उनले सचेत गराएका थिए ।

आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठीक हो भन्ने ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले भनाइ थियो । आइतबार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ । मैले यो आग्रह गरेँ । अर्को कुरा अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नुहुन्न । अन्याय गरेको छ, अपराध गरेको छ भने देशको कानूनले, पद्दतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ । छानविन हुन्छ । हेर्नुपर्ने निकायहरुले हेर्छन् । त्यसलाई गलत काम गर्ने मानिसले पनि त्यही ढंगले हेर्नुपर्दछ । आफू गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने अथवा मैले भनेको कुरा ठीक हो भन्ने ढंगले जानु हुन्न,’ गृहमन्त्री लेखकले भने ।

कतिपय अवस्थामा प्रहरीको पनि कमजोरी आफूले देखेको भन्दै उनले आम नागरिकलाई सम्झाइ बुझाइ गर्नुपर्ने बताएका थिए । उनले भने, ‘म के आग्रह गर्न चाहन्छु भने यो ट्राफिक प्रहरीको बारेमा पनि ट्राफिक रुल्सहरुको बारेमा, नियमहरुको बारेमा सचेतना गर्न पनि जरुरी छ । तपाईँहरुले यसलाई विद्यालयसँग पनि जोड्नुभएको छ । यसलाई थप विद्यालयसँग जोड्दै जानुपर्दछ भन्ने मलाई लाग्दछ ।’


क्लिकमान्डु