सरकारलाई लक्ष्य अनुसार राजश्व संकलन र खर्च गर्न कठिन



काठमाडौं । चालु आर्थिक वर्षको बजेट खर्च हुन तथा राजश्व संकलन हुन अब १० दिन मात्र बाँकी छ ।

यो अवधिमा सरकारले ७९.१९ प्रतिशत राजश्व संकलन गरेको छ । आगामी १० दिनमा २०.८१ प्रतिशत राजश्व संकलनका लागि सरकारलाई दबाब रहेको छ ।

सरकारले चालु अवमा ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । शनिबार (असार २१ गते)सम्म आईपुग्दा ६ खर्ब ५८ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ ।

अझै १ खर्ब ७२ अर्ब ९७ करोड ५ लाख रुपैयाँ राजश्व संकलन गर्न बाँकी रहेको छ । चालु आव सकिन १० दिन मात्र बाँकी छ ।

सरकारले असार १ गतेसम्ममा ७५.९९ प्रतिशत कर संकलन गरेको थियो । २१ दिनको अवधिमा ३.२ प्रतिशतले बढेको छ ।

यस्तै शनिबारसम्ममा ५५.७५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । चालु आवमा सरकारले ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ पुँजिगत खर्चका लागि बजेट विनियोजन गरेको थियो । शनिबार सम्ममा १ खर्ब ७५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

अझै १ खर्ब ३८ अर्ब ५६ करोड ४० लाख रुपैयाँ खर्च गर्न बाँकी नै रहेको छ । यता हिजो शनिबार मात्रै ३९ करोड ९ लाख रुपैयाँ बजेट पुँजीगत खर्च भएको छ ।

यता असार लागेयता सरकारले २३ अर्ब ७ करोड ९७ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ ।

यस्तै शनिबारसम्म ७९.०२ प्रतिशत चालु खर्च भएको छ । चालु आवको लागि ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा ६ खर्ब ६८ अर्ब ७ करोड ६४ लाख रुपैयाँ खर्च भइसकेको छ ।

सरकारले चालु आवमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ । जसमा अहिलेसम्म ९ खर्ब २१ अर्ब ७ करोड ७४ लाख रुपैयाँ अर्थात ७०.०४ प्रतिशत बजेट खर्च भएको छ । असार महिना लागेपछि मात्रै बजेट खर्च ७ प्रतिशतले बढेको छ । असार १ गतेसम्ममा जम्मा बजेट खर्च ८ खर्ब २९ अर्ब ४ करोड ६३ लाख रुपैयाँ बजेट खर्च भएको थियो ।


क्लिकमान्डु