भारतले नेपाललाई दिने सहयोग बढायो, प्रधानमन्त्री ओलीको सपना साकार हुने बजेट ल्यायो
भारत सरकारले नेपाललाई दिने सहयोग रकम ४० प्रतिशतले बढाएको छ ।
भारतीय वित्तमन्त्री निर्मला सितरमणले शुक्रबार पेश गरेको बजेटमा नेपाललाई आगामी वर्ष १६ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने उल्लेख छ ।
त्यस्तै, सुनको आयातमा १० प्रतिशत शुल्क बढाएर १२.५ प्रतिशत पुर्याएको छ । बजेटमा आयात शुल्क बढाएसँगै आजै भारतीय बजारमा सुनको भाउ २ हजार भारतीय रुपैयाँले बढेको छ ।
सुन तस्करहरुले नेपाल र भारतको भन्सार दरको फाइदा उठाउँदै नेपालको बाटो हुँदै भारतमा सुन तस्करी गर्ने गरेका थिए ।
वैधानिक सुन आयात महंगो हुने भएकाले नेपालको बाटो हुँदै सुन जाने क्रम बढ्न पनि सक्ने देखिएको छ ।
बजेटमा वित्तमन्त्रीले परम्परागत रुपमा बजेटका लागि प्रयो गर्ने ब्रिफकेस प्रयोग नगरी मखमलको रातो कपडामा बेरेर लगेकी थिइन् ।
बजेटलाई लिएर भारतीय सञ्चारमाध्यमले मध्यमवर्गका लागि भने राहत नदेखिएको भन्दै आलोचना गरेका छन् । त्यस्तै व्यक्तिगत तर्फको आयकरको न्यूनतम सीमा ५ लाखलाई नबढाउँदा मध्यम वर्गलाई कुनै राहन नभएको उनीहरुले उल्लेख गरेका छन । त्यस्तै, धेरै आम्दानी हुने वर्गलाई बढी कर लगाएको छ ।
साथै भारतमा विदेशी लगानी भित्रउन केही क्षेत्रमा खुकुलो नीति बजेटले लिएको छ । वित्तमन्त्री सितारमणले बीमा र सञ्चार क्षेत्रमा शतप्रतिशत विदेशी लगानी खुला गर्ने घोषणा समेत गरेकी छन् ।
बजेटमा हल्दियादेखि वनारससम्म जलमार्गको निर्माण २०२० सम्म पूरा गर्ने बजेटमा घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई साकार बनाउनका लागि यो कदम सहयोगी हुनेछ ।
भारतले बनाउने भनेको जलमार्गमा नेपालले आफ्नो पानी जहाज समुन्द्रसम्म पुर्याउने योजना राखेको छ । सोही अनुसार प्रधानमन्त्री ओलीको योजनामा पानी जहाज कम्पनी समेत स्थापना गरिएको छ ।
साथै सितारमणको बजेटलाई भने सेयर बजारले स्वागत गरेन् ।
सेयर बजारमा कम्पनीहरुको पब्लिक सेयरहोल्डिङ बढाउने निर्णय सेयर लगानीकर्ताहरुले मन पराएनन् । फलस्वरुप आज भारतीय सेन्सेक्स ३९४ अंकले घट्यो । एजेन्सी