रसायनयुक्त खाद्यान्नको आयातमा रोक लगाउनु दुबै देशका लागि फाइदाजनक- सञ्चारमन्त्री
काठमाडौं । भारतबाट आयात हुने रसायनयुक्त तरकारी र दुधजन्य पदार्थमा रोक लगाएको विषयमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले स्पष्ट पारेका छन् ।
मानव स्वास्थ्यलाई असर पार्ने भएकाले रसायनयुक्त खाद्यान्न आयातमा रोक लगाइएको उनले बताए । बिहीबार आयोजित पत्रकारसम्मेलनमा बोल्दै बास्कोटाले चीन भारत वा अन्य मुलुकबाट आयात हुने सबै प्रकारका खाद्यान्नमा रोक लगाइने स्पस्ट पारे ।
उनले भने, ‘नेपालबाट निर्यात हुने र विदेशबाट आयात हुने सबैमा रोक लगाइनु पर्छ ।’
उनका अनुसार प्राविधिक रुपमा चेकजाँचका लागि झण्झटिलो भएमा त्यसलाई मिलाउन सकिन्छ तर रसायन मिसाइएका खाद्यान्नहरु व्यापार मात्रै नभइ मानव स्वास्थ्यसँग जोडिने भएकाले आयातमा रोक लगाइएको हो ।
‘व्यपहारिक रुपमा र क्षमताका हिसाबले ल्याव परीक्षण गर्ने कुरामा हाम्रा तयारी पुगे वा पुगेनन भन्ने कुरामा कतै अप्ठ्यारो परेको हुनसक्छ तर विषयका हिसाबले यो दुबै देशका लागि फाइदाको कुरा हो’ उनले भने ।