८० र ९० को स्वाप रेसियोमा ग्लोबल-मेगा बार्गेनिङ, चन्द्र ढकाल भन्छन्- सामान्य छलफल मात्रै भएको हो



काठमाडौं । ग्लोबल आइएमइ बैंक र मेगा बैंकबीच मर्जरको छलफल तीब्र भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीति अघि मर्जरको प्रतिवद्धता बुझाउन निर्देशन दिएपछि यी दुई बैंकबीच ३ पटक छलफल भएको छ ।

दुबै बैंक एकआपसमा मर्ज हुन सहमत छन् । तर, कर्मचारी समायोजन र स्वाप रेसियोमा कुरा मिलेको छैन ।

‘मेगा बैंकले ९० मागेको छ भने ग्लोबलले ८० मात्रै दिन्छु भनेको छ,’ स्रोतले भन्यो, ‘सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)मा दुई बैंकबीच बार्गेनिङ भइरहेको छ ।’

यसरी बार्गेनिङ हुँदै जाँदा ८५ सम्ममा कुरा मिल्न सक्ने स्रोतको दाबी छ भने कर्मचारी समायोजनका विषयमा पनि कुरा मिल्न सक्ने संभावना बलियो छ ।

‘भरे भोलि नै अन्तिम छलफलमा बस्छौं,’ ग्लोबल बैंकका एक सञ्चालकले भने, ‘संभवत हामीबीचको मर्जर हुन्छ ।’

ग्लोबल बैंकले वितेका केही महिना यता मेगा, कुमारी, सेञ्चुरी, जनता सिभिल लगायतका बैंकसँग मजृरका लागि छलफल गरेको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

‘मेगासँग पनि मर्जरका विषयमा केही चरण छलफल भएको हो, छलफल अझै पनि जारी छ,’ ढकालले  क्लिकमाण्डूसँग भने, ‘तर, टुंगोमा पुगिसकेको छैन ।’

छलफल हुनु सामान्य विषय भएको ढकालको भनाई छ ।

‘छलफल र कुराकानी हुनु सामान्य विषय हो, छलफल हुँदैमा मर्ज हुन्छ भन्ने होइन,’ उनले भने, ‘मेगासँग हामी छलफल मात्रै गरिरहेका छौं ।’

ग्लोबल आइएमइ र मेगा दुबै बैंकसँग मर्जरको अनुभव छ। ग्लोबलले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई गाभिसकेको छ भने मेगाले पनि टुरिज्जमलगायत केही विकास बैंकसँग मर्जर गरिसकेको छ।

ग्लोबल बैंक पछिल्लो समय उल्लेख्य प्रगति गरेको आइएमइ समूहको लगानी छ । यो समूहको अध्यक्ष चन्द्र ढकाल हुन् । ढकाल निकट स्रोतका अनुसार उनको ठूलो बैंकको अध्यक्ष बन्ने महत्वाकांक्षा छ ।

‘चन्द्रजीसँग ठूलो बैंकको अध्यक्ष बन्ने म हत्वाकांक्ष छ, त्यसैले ग्लोबलले मौद्रिक नीति अघि नै कुनै वाणिज्य बैंकसँग मर्जरको सम्झौता गर्ने निशिचत प्राःय छ ।’

बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार ग्लोबलका लागि मेगा निकै उपयुक्त संस्था हो ।


पुष्प दुलाल