काठमाडौंमा २ दिने अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन हुँदै



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई दिने अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन गर्ने भएको छ ।

बोर्डले मंगलबार र बुधबार गर्न लागेको सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, सिंगापुर, भुटान, थाईल्याण्ड चीन, भारत लगायतका देश तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुका ४० जना प्रतिनिधिसहित १२५ जनाको सहभागीता रहने बोर्डले जनाएको छ ।

उक्त सम्मेलनमा बोर्डले दि अर्गनाइजेशन फर इकोनोमिक को-अपरेशन एण्ड डेभलपमेन्ट (ओसिइडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सिएल एजुकेशन (आईएनएफई) सँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो ।

विश्वभरी नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित उक्त संस्थामा हाल ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्य र ९५ देशका १७२ संस्थाहरु नियमित सदस्यको रुपमा रहेको बोर्डले जनाएको छ ।

सम्मेलनमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लि, अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायतका संस्थाहरुको पनि उपस्थिती रहने बताइएको छ ।

सम्मेलनमा नेपाल लगायत अन्य बिभिन्न अन्तर्राष्ट्रिय जगत्का विज्ञहरुले वित्तीय साक्षरता, समावेशिता, वित्तीय ग्राहक सुरक्षा, वृद्ध जनसंख्याको वित्तीय समावेशिता, बाल्यकालदेखि वित्तीय जोखिमता कम गर्ने, ग्रामीण तथा शहरी जनसंख्याका वित्तीय आवश्यकता बुझ्ने, वित्तीय साक्षरतामा सुधार एवम् साना तथा मझौला उद्योगमा पहुँच वृद्धि गर्ने सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुने बताइएकोछ । सम्मेलनले नेपालसहित यस क्षेत्रमा वित्तीय साक्षरतासम्बन्धमा देखिएका चुनौती र अवसरहरु बारेमा छलफल गरी समाधान पहिल्याउने अवसर मिल्ने बोर्डको अध्यक्ष डा. रेवत बहादुर कार्कीले बताए ।

उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको थप चर्चा हुने पनि बताए । उनले भने ‘यसले वित्तीय साक्षरता तथा लगानीकर्ताको हित सरंक्षण विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण सन्देश जाने छ ।’

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले धातुको १०० रुपैयाँको सिक्काको लोकार्पण गरेका छन् ।

रजत जयन्तिको अवसरमा बोर्डको अनुरोधमा नेपाल राष्ट्र बैंकको स्वीकृति पछि टक्सार महाशाखाले २९ मि.मि डायमिटरको ८.५ ग्रामको कुप्रो निकेल धातुको १०० रुपैयाँको सिक्का निष्काशन गरेको बताए । साथै बोर्डले २५ सय को सिक्का पनि निकट भविष्यमा निकाल्ने कार्कीले बताए । बोर्डले यसअघि नै बोर्डको रजत जयन्त्री लोगो अंकीत हुलाक टिकट निष्काशन गरेको जनाएको छ ।


पुष्प दुलाल