विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह: २०३० सम्म अहिलेको सहयोगलाई निरन्तरता दिनुहाेस् 



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासँग विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डि एन्जेलोले भेटवार्ता गरेका छन् ।

अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने बताए । सन् २०३० सम्ममा कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नती हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिबद्ध रहेको जानकारी गराउँदै यसका लागि विश्व बैंकको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरेका छन् ।

भेटघाटका क्रममा विश्व बैंकका तर्फबाट अर्थमन्त्रीको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमहरुलाई तिव्रताका साथ अगाडी बढेकोमा प्रशंसा गरिएको छ । मुलुकको दीर्घकालीन सोचका बारेमा उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैंकले आगामी दिनमा पु¥याउन सक्ने थप सहयोगको अपेक्षासहित नेपालले अबलम्बन गरेका दीर्घकालीन सोचका बारेमा जानकारी गराए ।

खतिवडाले विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको जानकारी दिए । सरकारले प्रक्षेपण गरे बमोजिम आगामी केही वर्ष दिगो रुपमा उच्च आर्थिक बृद्धि हासिल गरी सोको लाभ सन्तुलित रुपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिनेमा विश्वस्त हुन आग्रह गरे ।

उनले संघीय संरचना अनुरुप स्थानीय तह, प्रदेश र संघीय सरकारले ईमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सकेमा नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने खाका प्रस्तुत गरे ।

त्यस अभियानमा ठूलो आर्थिक तथा प्राविधिक साधन र श्रोतको आवश्यकता पर्ने भन्दै अर्थमन्त्री खतिवडाले यस अवधिभर स्तरोन्नति भएपछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैंक लगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा गरे ।


क्लिकमान्डु