नबिल र स्टयाण्डर्ड चार्टर्डमध्ये कस्को सेयर किन्दा धेरै फाइदा हुन्छ ? यस्तो छ सेयर मूल्यको इतिहास



काठमाडौं । आजभन्दा २ वर्ष अघिसम्म वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी सेयर मूल्य थियो स्टयाण्डर्ड चार्टर्ड बैंकको ।

कुनैबेला स्टक एक्सचेन्जमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी स्टयाण्डर्ड चार्टर्ड बैंक नै थियो ।

अहिले सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी युनिलिभरभन्दा स्टयाण्डर्ड चार्टर्डको सेयर मूल्य बढी थियो । कुनैबेला चाटर्डको प्रतिकित्ता सेयर किन्न ९ हजार रुपैयाँ खर्च गर्नुपर्थ्यो ।

स्टयाण्डर्ड चार्टर्डपछि दोस्रोमा सबैभन्दा बढी सेयर मूल्य हुने कम्पनीमा नबिल बैंक थियो ।

तर, नबिल बैंकले २ वर्ष अघिदेखि दोस्रो बजारमा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी सेयर मूल्य हुने कम्पनी बनेको छ । स्टयाण्डर्ड चार्टर्ड बैंकको ताज खोसिएको छ ।

अहिले दोस्रो बजारमा नबिल बैंकको सेयर मूल्य ८०४ रुपैयाँ रहेको छ भने स्टयाण्डर्ड चार्टर्डको सेयर मूल्य ६६१ रुपैयाँ रहेको छ ।

९ वर्षको सेयर मूल्यलाई विश्लेषण गर्ने हो भने २०७२ सालमा स्टयाण्डर्ड चार्टर्ड र नबिल बैंकको सेयर मूल्य लगभग समान थियो ।

सामान्य रकमले नबिल बैंकले स्टयाण्डर्ड चाटर्ड बैंकलाई सेयर मूल्यमा जितेको थियो । यद्यपी अर्को वर्ष पुनः नबिलभन्दा स्टयाण्डर्ड चार्टर्डको नै सेयर मूल्य बढी भयो ।

नेपाल राष्ट्र बैंकले २०७२ सालको मौद्रिक नीतिमा चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब पुर्याउने नीति लियो । नबिल बैंकले बोनस सेयर वितरण गरेर नै चुक्ता पुँजी पुर्याउन सफल भयो ।

तर, स्टयाण्डर्ड चार्टर्ड बैंकले भने चुक्ता पुँजी पुर्याउनको थप सार्वजनिक निष्कासन (एफपिओ) निष्कासन गर्नुपर्यो ।

एफपिओपछि चाटर्डले चुक्ता पुँजी पुर्याउनको लागि १०० प्रतिशत बोनस सेयर दिएको थियो । त्यसपछि भने नबिल बैंकको सेयर मूल्य दोस्रो बजारमा स्टयाण्डर्ड चार्टर्डभन्दा बढी भएको छ ।

चुक्ता पुँजी पुगेपछि चार्टर्डले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश मात्र दियो । चार्टर्डले १७.५ प्रतिशत नगद लाभांश दिएको थियो । पछिल्लो ८ वर्षको इतिहासमा चाटर्डले दिएको यो सबैभन्दा कम लाभांश हो ।

नबिल बैंकले भने बोनस सेयर दिएर नै चुक्ता पुँजी पुर्याएको हो ।

नबिल बैंकले पछिल्लो ८ वर्षमा एक वर्षमात्रै नगद लाभांश मात्र दिएको छ । नबिलले हरेक वर्ष नगद लाभांशसँगै बोनस सेयर समेत दिएको छ ।

गत आर्थिक वर्षको नाफाबाट नबिल बैंकले १२ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश दिएको थियो । नबिलले पनि पछिल्लो ७ वर्षमा सबैभन्दा कम लाभांश दिएको गतवर्षको नाफाबाट हो ।

चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार नबिल बैंकको नाफा ३ अर्ब १९ करोड रुपैयाँ छ । यस्तै चुक्ता पुँजी ९ अर्ब रुपैयाँ रहेको छ भने रिजर्बमा ९ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

जबकी स्टयाण्डर्ड चार्टर्डले चैत मसान्तसम्मा १ अर्ब ७९ करोड रुपैयाँ कमाएको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रहेको छ भने रिजर्बमा ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।


पुष्प दुलाल