मेयर विद्यासुन्दरले ल्याएको बजेटमा त्रुटी नै त्रुटी !



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि बिनियोजन गरेको बजेटमा त्रुटि नै त्रुटि भेटिएको छ ।

राष्ट्रिय सभा गृह काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले निर्धारित समय भन्दा डेढ घन्टापछि भए पनि निकै तामझामका साथ मंगलबार बजेट बिनियोजन गरिन् ।

त्रुटी–१

खड्कीले आगामी आवका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिन् ।

उनले बजेट भाषण गर्ने क्रममा चालु आवको बिनियोजित १३ अर्ब २ करोड १२ लाख ३७ हजारको तुलनामा आगामी आवको लागि १९ प्रतिशतले बढी बजेट भएको बताइन ।

तर यो त्रुटीपूर्ण छ । किनभने गत वर्षको विनियोजित बजेटमा १९ प्रतिशतले बढाउँदा १५ अर्ब ४९ करोड ५२ लाख ७२ हजार ३० रुपैयाँ हुन्छ । महानगरले सार्वजनिक गरेको बजेटभन्दा १९ प्रतिशतले वृद्धि गरी हुन आउने रकम १ करोड १७ लाख ३९ हजार ९७० रुपैयाँले पुग्दैन ।

त्रुटी–२

यतिमात्र होइन काठमाडौं महानगरपालिकाले १ सय प्रतिशत होइन १०१ प्रतिशत बजेट ल्याएको देखिएको छ । जुन कुरा सुन्ने जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर अचम्म मान्नुपर्दैन, यो सत्य हो ।

कसरी हो भने योजना कार्यक्रम तथा बजेटमा आर्थिक विकासको लागि उद्योग तथा वाणिज्य, कृषि, पर्यटन, वित्तीय क्षेत्र र सहकारीको लागि कुल बिनियोजित बजेटको ४ प्रतिशत छुट्याइएको छ ।
त्यस्तै, सामाजिक विकास अन्तर्गत खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृती प्रबद्र्धका लागि बिनियोजित बजेटमध्ये २४ प्रतिशत रकम छ ।

पूर्वाधार विकास अन्तर्गत उर्जा, भवन तथा सहकारी विकास, वैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य पूर्वाधारको क्षेत्रमा विनियोजित बजेटमध्ये ३९ प्रतिशत रकम छ ।

महानगरले वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोर मैला व्यवस्थापन, ल्याण्डफिल साइटको व्यवस्थापन वन तथा भू–संरक्षण, वारुणयन्त्र सञ्चालन र विपद व्यवस्थापनका क्षेत्रलाई बिनियोजित बजेटको ४ प्रतिशत रकम बिनियोजन गरेको छ ।

त्यस्तै, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन अन्तर्गत नागरिक वडापत्र, मानव संसाधन विकास, सूचना प्रविधि, सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, राजश्व परिचालन, पुँजीगत सम्पतिको सञ्चालन र सम्भार खर्च आन्तरिक ऋणको ब्याज आदिको लागि बिनियोजित बजेटको २३ प्रतिशत र जग्गा विकासको लागि बिनियोजित बजेटमध्ये ७ प्रतिशत रहेको छ ।

यो सबै जोड्दा महानगरपालिकाको बजेट प्रतिशतका हिसाबले हेर्दा १०१ प्रतिशत पुग्छ ।
यसर्थ बिनियोजित बजेटमा १ प्रतिशत बजेट थपिदाँ १५ करोड ७० लाख ७० हजार १२० रुपैयाँ बढी हुनुपर्ने हो ।

महानगरले ल्याएको बजेटलाई प्रतिशतमा हेर्ने हो भने यो १५ अर्ब ५० करोड ७० लाख १२ हजार होइन १५ अर्ब ६६ करोड २० लाख ८२ हजार १२० रुपैयाँ हुन आँउछ ।

त्रुटी–३

महानगरपालिकाले आगामी आवको लागि ल्याएको बजेटमा व्यय र आय पनि मिलेको छैन । महानगरले व्यय र आयलाई १०० प्र्रतिशत रहेको जनाएपनि वास्तवमा भने ९९.९९ प्रतिशत मात्रै रहेको छ ।

दुवै शीर्षकमा ०.०१ प्रतिशत अपुग छ । यो भनेको विनियोजित बजेटको १५ लाख ५० हजार ७०१ रुपैयाँको फरक हो ।

व्ययतर्फ पुँजीगत सम्पत्ति खर्च १०.८० प्रतिशत, तलब पारिश्रमिक, सुविधा खर्च ९.८१ प्रतिशत, कार्यालय सञ्चालन खर्च ४.१३ प्रतिशत, पूर्वाधार सुधार तथा अन्य विकास खर्च ५१.७४ प्रतिशत र नेपाल सशर्त अनुदानबाट पूँजीगत खर्च २३.५१ प्रतिशत उल्लेख गरिएको छ । यो सबै जोडदा ९९.९९ प्रतिशत हुन्छ, १०० प्रतिशत पुग्दैन ।

यतिमात्रै हैन आयतर्फ पनि ९९.९९ प्रतिशत मात्रै छ । आफ्नै स्रोतबाट आय ५२.३२ प्रतिशत, अन्य स्रोतबाट आय २९.२९ प्रतिशत, विभिन्न स्रोतबाट पूर्ति गरिने बजेट १८.३८ सहित महानगरले १०० प्रतिशत भनेको छ । तर यो सबै जोडने हो भने ९९.९९ प्रतिशत मात्र हुन आउँछ ।

महानगरपालिकाले बिनियोजन गरेको बजेटमध्ये यहाँ व्यय र आयतर्फ ९९.९९ प्रतिशत मात्रै हुन्छ । यसर्थ बिनियोजित बजेटमा १५ लाख ५० हजार ७०१ रुपैयाँ अपुग हुन्छ ।


सोभित थपलिया