शोधनान्तर घाटा बढेपछि अर्थमन्त्री खतिवडा दाताबाट पैसा उठाउन कस्सिए



काठमाडौं । शोधनान्तर घाटा बढेपछि अर्थमन्त्री डा. युवराज खतिवडा दाताबाट पैसा उठाउन कस्सिएका छन् ।

सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप परेको हुँदा मन्त्रालय तथा सम्बन्धित निकायहरुले यथाशीघ्र सोधभर्ना प्राप्ति तर्फ पहल गर्न विभिन्न मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको ११ महिन अवधिमा वैदेशिक सहायता ६३ अर्ब सोधभर्ना प्राप्त भए पनि अझै ४३ अर्ब सोधभर्ना हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार मन्त्रालयमा बसेको बैठकमा मन्त्री डा. खतिवडाले आउँदा दिनमा प्रदेश र स्थानीयतहबाट हुने खर्चको प्रगति समेत समय मै उपलब्ध गराइ खर्चको यथार्थ प्रतिवेदन दिन समेत आग्रह गरेका छन् । मन्त्री डा. खतिवडाले चालु आर्थिक वर्षमा सम्पन्न भएका कामको भुक्तानी समेत चाँडै दिन निर्देशन दिएका छन् ।

कार्यक्रममा विभिन्न मन्त्रालय र निकायका सचिव र प्रतिनिधिहरुले वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयनका क्रममा भोगेका समस्याहरु र सोधभर्नाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

त्यस अवसरमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख कृष्ण नेपालले चालु आवको ११ महिनाको अवधिमाभएको समग्र स्रोतगत खर्चको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

उनले अहिलेसम्म अपेक्षाकृत प्रगति हुन नसकेका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको बारेमा पनि जानकारी गराएको मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताएका छन् ।


क्लिकमान्डु