काठमाडौंको न्यूरोडमा आजदेखि स्मार्ट पार्किङ, यसरी गर्नुहोस् बुकिङ



काठमाडौं । के तपाई काठमाडौंको मुटु न्यूरोड क्षेत्रमा जाने तर पार्किङ गर्ने ठाँउ नपाइएला कि भन्ने चिन्तामा हुनुहुन्छ ? यदि हो भने अब तपाईले चिन्ता लिने समय सकिएको छ ।

अब तपाईले मोबाइलमा पार्क केटिएम भन्ने एप डाउनलोड गरेर आफ्नो सवारी साधन निर्धक्कका साथ राख्न सक्नुहुनेछ । त्यसको लागि महानगरपालिकाले स्मार्ट पार्किङको सुरु गरेको छ ।

काठमाडौंंको न्यूरोडमा आज (असार १ गते) देखि स्मार्ट पार्किङ सञ्चालनमा आएको छ । दुई साताको परीक्षणपछि आजबाट पूर्णसञ्चालनमा ल्याईएको छ ।

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार काठमाडौंको धर्मपथमा स्मार्ट पार्किङको उदघाटन गरे ।

उक्त पार्किङ पहिलो चरणमा विशाल बजार र धर्मपथमा सुरु भएको छ । त्यसपछि क्रमशः न्यूरोड, प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबार मार्गमा पनि यो सेवा सुरु गर्ने मेयर शाक्यले बताए । उक्त पार्किङ स्थलमा दुई र चार पाङ्ग्रे सवारी साधान पार्किङ गर्न सकिनेछ ।

पर्किङलाई सहज बनाउन पार्ककेटीएम मोबाइल एपको सहयोग लिन सकिने छ । उक्त एपबाट पार्क गर्ने स्थान बुक गर्न सकिन्छ, बुक गरेको १५ मिनेटमा सवारी साधन पुगिसक्नु पर्नेछ, त्यो अवधिमा नपुगेको खण्डमा त्यो बुकिङ रद्द हुनेछ ।

उक्त क्षेत्रमा मोटरसाइलक पार्किङ गर्दा प्रतिघण्टा २५ रुपैयाँ र गाडी पार्किङ गर्दा प्रतिघण्टा ८० रुपैया शुल्क लाग्ने छ । टाइम बिलिङ हुन्छ, त्यस्को रेकर्ड महानगरको सर्भरमा रहने छ ।

स्मार्ट पार्किङ सुरु भएपछि समय, इन्धनको बचत हुने, समय बचत हुनुका साथै वाताबण प्रदुशणमा कमी आउने महानगरको अपेक्षा रहेको छ । यसले गर्दा ट्राफिक जाम न्यूनिकरण गर्न पनि भूमिका खेल्ने मेयर शाक्यले बताए ।


क्लिकमान्डु