पुँजी बजारप्रति यसरी ‘यु टर्न’ भए अर्थमन्त्री खतिवडा, अब खरेलले अबरोध गर्न सक्दैनन्



काठमाडौं । पुँजी बजारप्रति पटक-पटक नकरात्मक अभिव्यक्ति दिएका कारण लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई पुँजी बजार विरोधी व्यक्ति ठान्छन् ।

खतिवडा अर्थमन्त्री भएको १५ महिना भयो । अर्थमन्त्रीको कार्यभार समलेलगत्तै खतिवडाले पुँजी बजार र रियल स्टेट अनुत्पादन क्षेत्र हो भन्ने अभिव्यक्ति दिएपछि उनी निकै विवादमा तानिए ।

खतिवडाको त्यो अभिव्यक्तिले सेयर बजारमा निकै ठूलो असर गर्यो ।

पुँजी बजारका विषयमा माग राख्न मन्त्रालय पुगेका लगानीकर्ताहरुलाई अर्थमन्त्री खतिवडाले ‘मैले लगानीकर्तालाई समय दिने होइन,’ भन्दै झपारेको भिडियो निकै भाइरल भएको थियो ।

अर्थमन्त्री बारम्बार नकरात्मक भएपछि लगानीकर्ताहरुले शान्तिपूर्ण आन्दोलन गरे । त्यति गर्दा पनि अर्थमन्त्री खतिवडा सकरात्मक भएनन् र लगानीकर्ताहरु आमरण अनसनसम्मको अवस्थामा पुग्नु पर्यो ।

तर अहिले एकाएक मन्त्री खतिवडा ‘यू टर्न’ भएका छन् ।

पहिला सेयरको ‘स’ शब्द पनि सुन्न नचाहने खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा लगानीकर्तालाई बम्पर उपहार दिएका छन् । उनको यो उपहारसँगै मन्त्री सेयर बजारको विषयमा यूटर्न भएको समेत चर्चा लगानीकर्तामा सुरु भएको छ ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकरको दर व्यक्तिगत लगानीकर्ताको लागि ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेका छन् । यसअघि ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो ।

गत वर्षको बजेटमा सरकारले ५ प्रतिशतको पुँजीगत लाभकरलाई बढाएर ७.५ प्रतिशत पुर्याएको थियो । अहिले पुनः ५ प्रतिशत हुँदा लगानीकर्ता थप हर्षित बनेका छन् । यस्तै बजेटले गैरआवासीय नेपालीहरु (एनआरएन)लाई पुँजी बजारमा आउने बाटो खोलेको छ ।

बजेटमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको संस्थागत सुधार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय विवरण एकीकृत रूपमा प्रकाशन गर्ने, सामूहिक लगानी कोष, सेयर अभौतिकरण र सीडीएससीलगायतको कार्य थप व्यवस्थित गर्ने जस्ता महत्वपूण विषय उल्लेख छन् ।

निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से तथा सीडीएससी राफसाफ प्रणालीमा आबद्ध गराउने, सेयर कारोबारको पुँजीगत लाभकर गणना औसत लागत विधिबाट गरिनेजस्ता विषयलाई बजेटले समेटेको छ ।

अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरेका यी विषयहरु लगानीकर्ताले वर्षौंदेखि उठाउँदै आएका थिए । अहिले लगानीकर्ताका माग धेरै हदसम्म पूरा भएका छन् ।

मन्त्री खतिवडा एकाएक यसरी युटर्न हुँदा लगानीकर्ताहरु खुसी भएका मात्रै छैनन् । अनुदार अर्थमन्त्री कसरी यति उदार भए भनेर आश्चर्यसमेत परेका छन् ।

‘पहिला अर्थमन्त्री खतिवडालाई आफू राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर हुँदाको धङधङी बाँकी नै थियो, त्यसैले गर्दा सुरुमा नै सेयर बजार र रियल स्टेट क्षेत्र अनुत्पादन हो भनेर बोल्नु भयो, त्यसपछि अहिले विस्तार उहाँ वास्तविकता बुझ्दै हुनुहुन्छ,’ एक लगानीकर्ताले क्लिकमाण्डूसँग भने ।

खतिवडा मन्त्री भएलगत्तै भेटन खोज्दा उनका सहयोगीले पटक-पटक अवरोध सिर्जना गरेको लगानीकर्ताहरु बताउँछन् ।

‘सेयर बजारको विषयमा अर्थमन्त्रीले बोले लगत्तै बजार अस्थिर देखियो । उहाँको आलोचना पनि भयो, आलोचना धेरै भएपछि हामीले भेटन खोज्यौं तर उहाँको निजी सचिवालयमा कार्यरत नेपाल राष्ट्र बैंकका निर्देशक सहयोगी डा. रामशरण खरेलले भेट्न जान नै दिएनन्,’ अर्का एक लगानीकर्ताले भने, ‘खरेलले भेट्न नदिएपछि मन्त्रीज्यूले हाम्रो पीरमर्का बुझ्नु भएन । र, पुँजी बजारप्रति नकरात्मक हुनुभयो ।’

यो बजेटमा जे आएको छ, त्यो बसै आन्दोलनको परिणाम भएको उनले बताए ।

मन्त्रीको भनाईलाई लिएर बजारमा निकै उतार चढाव पनि आयो । नेप्सले ल्याएको अनलाइनमा पनि समस्या भयो । त्यही समयमा लगानीकर्ताले पटकपटक मन्त्रीलाई भेटन खोजे तर खरेलले रोकेको रोक्यै गरे ।

त्यसपछि लगानीकर्ताहरु मंसिर अन्तिमबाट आमरण अनसन बस्न थाले । आक्रोशित लगानीकर्ताले अर्थमन्त्रीको राजिनामासमेत माग गरे ।

लगानीकर्ताहरु सेयर बजार बढाउनु पर्छ भनेर भन्दा पनि यो क्षेत्रमा देखिएको समस्या दीर्घकालिनरुपमा सुधार होस्, अनलाइन प्रणालीलाई व्यवस्थित बनाउन भन्दै सुरुमा दबाब दिएको तर्क गर्छन ।

‘मन्त्रीज्यूले हाम्रो माग सम्बोधन गर्न चाहनु भएको थियो भने उहाँले भनेको भरमा समस्या समाधान हुने थियो तर हामीले के माग राखेका छौं । र, त्यो माग समाधान गर्दा के होला र नगर्दा के होला भनेर उहाँले थाहा नै पाउन सक्नुभएन । किनकी खरेलजीले हामीलाई मन्त्री भेट्नै दिनुभएन,’ ती लगानीकर्ताले सुनाए ।

स्मरण रहोस् निजी सचिवालयमा कार्यरत खरेल अर्थमन्त्री खतिवडाका छोरीज्वाईं हुन् । राष्ट्र बैंकमा पटकपटक फाइल बढुवा भएका खरेल ३६औं नम्बरमा रहेर पनि १६ जनाको बढुवा हुँदा निर्देशकमा बढुवा भएका व्यत्ति हुन् । अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडलिस्ट भएपछि खरेललाई सीधै राष्ट्र बैंक भर्ना गरिएको थियो ।

‘खरेलजीसँग हामीले मन्त्रीज्यूलाई भेट्न समय मिलाई दिनु भनेर धेरै आग्रह गर्यौ । तर पछि बुझ्दा थाहा भयो, उहाँले नै मन्त्रीलाई हामीले भेट्न खोजेको विषयमा जानकारीसमेत गराउनु भएको रहेनछ, मन्त्रीलाई नैं हामीले भेट्न खोजेको थाहा नभएपछि उहाँले भेट्न दिनु भएन भनेर रिसाउने ठाँउपनि छैन,’ ती लगानीकर्ताले सुनाए ।

त्यो बेलामा खरेलले लगानीकर्ताले गरेको आन्दोलनलाई सामान्य रुपमा लिएको र केही दिनका लागि हुने आन्दोलनको बारेमा मन्त्रीलाई जानकारी गराउनु आवश्यक ठानेनन् । र, पछिको परिणामको विषयमा दीर्घकालिन दृष्टिकोण नराख्नाले अहिले आएर लगानीकर्ताहरुको अपेक्षाभन्दा बढी बजेटले व्यवस्था गरेको लगानीकर्ताको तर्क छ ।

लगानीकर्ताका अनुसार पहिला नै खरेलले मन्त्री डा. खतिवडालाई भेटने समय दिएको भए पुस पहिलो साता राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गर्ने सम्मको परिस्थिति आउने नै थिएन ।

जब खरेलले मन्त्री खतिवडालाई भेट्न दिएनन् । तब लगानीकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न समय लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

‘हामीले प्रधानमन्त्री ओलीलाई भेट्न समय लिएका थियौं, हामी त्यहाँ पुगेपछि प्रधामन्त्रीका राजनीति सल्लाहकार विष्णु रिमाललाई भेट्ने विषयमा जानकारी गरायौं, उहाँले हामी प्रधानमन्त्रीलाई भेट्न आएको भनेर खरेललाई जानकारी गराउँदै हाम्रो मागको बारेमा खरेललाई सोध्नुभयो । खरेलले सबै माग पुरा भयो भनेर रिमाललाई भनेपछि प्रधानमन्त्रीलाई भेट्न नै दिइएन, त्यसपछि हामी हाम्रो माग दर्ता गराएर फर्कयौं,’ एक लगानीकर्ताले सुनाए ।

यो कुरा ०७५ चैतको हो ।

सेयर बजार डिप्रेसनमा परेपछि यसमा प्रधानमन्त्रीकोसमेत ध्यानाकर्षण भयो । र, अर्थमन्त्री माग सम्बोधन गर्न तयार देखिए ।

‘त्यसको प्रतिफल अहिले बजेटमा पायौं, मन्त्री आवश्यकता भन्दा धेरै नै लचक देखिनु भएको छ,’ ती लगानीकर्ताले सुनाए, ‘मन्त्रीको निजी सचिवालयका मान्छे असल भएनन भन् सरोकारवालो के कस्तो हदसम्म दुःख पाउँछन् भन्ने हामीले भोगेका छौं ।’

लगानीकर्ता थप्छन्- ‘पढेको मान्छे भएर पनि खरेलजीको एटिच्यूड नै खराब रहेछ, ज्वाईं भएर मात्रै अर्थमन्त्रीज्यूले काँध हालेर बोक्नुभएको रहेछ ।’


पुष्प दुलाल