कार्गो रेल चलाउन भारतसँग भएको छलफल सकारात्मक, अब सबै नाकामा सामान आउने



काठमाडौं । नेपाल र भारतबीच कार्गो रेल चलाउनका लागि सहमति भएको छ । सहमतिपछि कलकत्ताबाट सिधै कार्गो रेलबाट सामान ल्याउन सकिनेछ ।

सहमति पुनरवलोकन बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजकत्वको ११ सदस्य टोली भारत गएको थियो । टोलीले छलफल गरी सैद्दान्तिक रुपमा कार्गो रेल चलाउनका लागि सहमति गरी फर्किएको छ ।

यस अगाडि सन् २००४ मा नेपाल र भारतबीच रेल सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो । तत्कालिन समयमा भएको सम्झौता अनुसार नेपालले बल्क कार्गो कलकत्ता बन्दरगाहबाट वीरगञ्जको नाकासम्म ल्याउन पाउने व्यवस्था थियो ।

तर नयाँ सहमतिले भैरहवा र अन्य क्षेत्रमा सामान ल्याउनका लागि छलफल भएको छ । छलफलमा भारत सरकार सकारात्मक रहेको नेपाली टोलीले जानकारी दिएको छ ।

यस पटक जनकपुर–जयनगर रेल सेवा सुचारु गर्नका लागि समेत महत्वपूर्ण छलफल गरिएको छ । सरकारले जनकपुर–जयनगर रुटका लागि भारतसँग रेल किन्ने सम्झौता गरिसकको छ ।

साथै भारतको कन्टेनर कर्पोरेशन अफ इन्डियाको तुलनामा भारतीय निजी क्षेत्रले २५ देखि ३० प्रतिशतसम्म सस्तो दरमा कार्गो रेलमार्फत नेपालमा सामान ल्याउन प्रस्ताव गरिसकेका छन् ।

प्रत्येक ६ महिनामा हुनुपर्ने बैठक लामो समयदेखि हुन सकेको थिएन् । योसँगै नेपालको निर्यात व्यापार वृद्धि हुनाको साथै आयातमा समेत थप सहज विश्वास मन्त्रालयको छ ।

तेस्रो मुलुकको बल्क कार्गो सिधै रेलमार्गबाट वीरगञ्जको रक्सौल बाहेक विराटनगरको जोगबनी, भैरहवा (नौतनवा) र नेपालगञ्जको रुपेहियासम्म र धनगढीसम्म पनि कार्गो रेल ल्याउनका लागि भारत सकारात्मक देखिएको छ ।

छलफलले सकारात्मक निष्कर्ष निकालेमा कलकत्ताबाहेक विशाखापटनम बन्दरगाह हुँदै तेस्रो मुलुकबाट समेत सामानहरु पनि बल्क कार्गोमार्फत नेपाली नाकासम्म ल्याउन सकिनेछन् ।

बल्क कार्गोमा तरकारी, फलफूल, कोइला, क्लिंकर, मल, चिनी, नून, जस्ता वस्तुहरु ठूलो परिमाणमा मात्रै ल्याउन पाइन्छ । अहिलेसम्म रेल सेवा सम्झौताअनुसार कलकत्ताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइन्छ ।

यस अगाडि सन् २०१२ मा बसेको नेपाल-भारत अन्तर सरकारी समिति (आईजीसी) को बैठकमा विराटनगर र भैरहवा नौतनवा नाकासम्म पनि बल्क कार्गो सुविधा विस्तार गर्ने सहमति भएको थियो ।

तर, रेल सेवा सम्झौता पुनरावलोकन नहुँदा कार्यान्वयन भने हुन सकेको थिएन् ।


क्लिकमान्डु