इटहरिका मेयर चौधरीले भने- सञ्चार जगतमा शुद्धिकरण आवश्यक, म उदण्ड छैन अनुसाशित व्यक्ति हुँ
काठमाडौं । इटहरि उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफ्नो भनाइबाट सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै चौधरीले सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय नभएको भन्दै आगामी दिनमा पनि नरहने प्रतिबद्धता जाहेर गरे ।
‘म उदण्ड हुँदै होइन, म अनुशासित व्यक्ती हुँ, तर एक जना पत्रकारले फेसबुकमा कमेन्ट लेखेर आक्रोस पूर्ण फोन गरेपछि भएका संवादका क्रममा आवेगजन्य परिस्थितीका कारण सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दछु’ उनले भनेका छन् ।
इटहरि उपमहानगरपालिका प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको बताउँदै उनले संवैधानिक हकप्रति सधै प्रतिबद्ध स्पष्ट पारे ।
प्रेस जगतको भूमिका बिना नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तनहरु सम्भव नभएको उल्लेख गर्दै उनले यति गौरवशाली महत्व रहेको प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढिकरण आवश्यक रहेको बताएका छन् ।
आफू भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको अभियानमा रहेकाले सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य रहेको स्पष्ट पारेका छन् । यो अभियानमा समस्त सञ्चारकर्मीहरुलाई सहयोगका लागि आवहान समेत गरेका छन् ।
समग्र इटहरिको विकासका लागि उपमहानगरले कुनै कसर बाँकी नराखेको भन्दै परिवर्तन र समृद्धिको यात्रामा सबै पक्षलाई सँगै भइदिन समेत आग्रह गरेका छन् ।