प्रधानमन्त्रीसँगै स्विट्जरल्याण्ड गयो उद्योग वाणिज्य महासंघको टोली, त्यहाँका निजी क्षेत्रसँग भेट गर्ने
काठमाडौं । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोह एवं १०८ औं सम्मेलनमा भागलिन नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ आइतबार प्रस्तान गरेका छन् ।
प्रमसँगै भ्रमणदलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।
आइएलओको शतवार्षिकी सोमबार जेनेभामा आयोजना हुंदैछ भने सम्मेलन आगामी असार ६ गतेसम्म चल्ने छ ।
स्विट्जरल्याण्ड गएको महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको ५ नम्वर प्रदेशका अध्यक्ष गुणनिधि तिवारी, महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिवी बस्नेत, महासंघको कृषि उद्यम केन्द्रका सह—सभापति हेमराज ढकाल, महिला उद्यमी महासंघ नेपालका सदस्य शोभा ज्ञवाली सहित नौ सदस्यीय टोली रहेको छ ।
आइएलओको कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा हाल यूरोपको भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डल पनि सहभागी हुने कार्यक्रम छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सो सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियन प्रतिनिधिहरूको सहभागिता रहने छ । सम्मेलनमा महासंघका तर्फबाट महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकालले जेठ ३० गते सम्बोधन गर्ने कार्यक्रम छ ।
आइएलओको शतवार्षिकी कार्यक्रम सकाएर प्रधानमन्त्री बेलायत तथा फ्रान्सको समेत औपचारिक भ्रमणमा जानेछन् । प्रधानमन्त्रीज्यूको सबै औपचारिक कार्यक्रममा महासंघको प्रतिनिधिमण्डल पनि सहभागी हुने कार्यक्रम छ ।
फ्रान्स भ्रमणका क्रममा दुई देश बीच हुने उच्चस्तरीय व्यवसायिक भेटवार्ता र सोही क्रममा महासंघ र मेडेफ इन्टरनेशनल बीच सहमतीपत्रमा हस्ताक्षर हुनेछ । कार्यक्रममा महासंघका अध्यक्ष राणा, उपाध्यक्ष प्रधान सहित यूरोप भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी हुनेछन् ।
उच्चस्तरीय व्यवसायिक भेटवार्तामा नेपाल र फ्रान्स बीच पर्यटन, प्रविधि र दुई देशका निजी क्षेत्र बीच लगानी प्रवद्र्धनमा जोड दिइने छ । फ्रान्समा हुने कार्यक्रमलाई महासंघका अध्यक्ष राणाले पनि संबोधन गर्ने कार्यक्रम छ ।
उच्चस्तरीय औपचारिक भेटवार्तामा नेपाल फ्रान्स बीच दुई पक्षीय लगानी, प्रविधि हस्तान्तरण, केवुलकार, पर्यटन पूर्वाधार, जडीबूटी प्रशोधन लगायतका क्षेत्रमा संयुक्त लगानी भित्र्याउन पहल गरिने विश्वास गरिएको छ ।
साथै भ्रमणका दौरान महासंघको प्रतिनिधिमण्डलबाट बेलायत तथा फ्रान्सका निजी क्षेत्रका प्रतिनिधि स“स्थाहरूसंग भेटवार्ता गर्नेे कार्यक्रम पनि रहेको छ ।