धितोपत्र बोर्ड राष्ट्र बैंकको छायामात्र भयोः अर्थमन्त्री खतिवडाको बिचार



नियामक निकायहरु स्वायत्त हुनुपर्छ । त्यही अनुसार धितोपत्र बोर्डलाई प्रभावकारी,स्वतन्त्र बनाउने गरेर कानून संसोधन गर्नुपर्ने छ । त्यसलाई हामीले अगाडि बढाउनुपर्छ । अहिलेसम्म धितोपत्र बोर्ड राष्ट्र बैंकको छायामा परेको देखिन्छ ।

कानूनलाई प्रभावकारी कार्यान्वयन गर्नको लागि दण्डहिनताको अन्त्य गर्नुपर्छ ।
दुई अंकको आर्थिक बृद्धिदर, यो वर्ष साढे ८ प्रतिशतको आर्थिक बृद्धिदर गर्नुपर्ने छ । यसको लागि खर्बौ लगानी गर्नुपर्छ । सरकारको ढुकुटीमा कति पैसा छ थाह भएको कुरा हो । अहिलेको अर्थतन्त्रमा निजी क्षेत्रले कति लगानी गर्छ त्यो पनि प्रष्ट नै छ ।

जुन किसिमको बजारमा तरलता छ त्यसमा सन्तुलन गर्नुपर्छ । कति अवधीको बचतले कति अवधीलाई लगानी गर्ने त्यो कुरापनि छ ।

तरलताले बजारलाई कसरी प्रभाव पार्छ त्योपनि कुरा छ । अर्को पुँजीबजारबाट पाउने लाभ र मुद्दती निक्षेपभन्दा कति फरक छ त्योपनि हेर्नुपर्छ ।
मैले अघि धितोपत्र बोर्ड राष्ट्र बैंकको छायामा परिरह्यो भन्दा व्यक्ति विशेषको कुरा गरेको होइन । बैकिङ प्रणालीमा तरलता बढ्यो सेयर बजार माथि गयो तथा बैकिङ प्रणालीमा तरलता घट्यो सेयर बजार तल आयो । मौद्रिक नीतिको छाया धितोपत्र बोर्ड हुनु भएन ।

मौद्रिक नीतिले तरलता व्यवस्थापन गर्दा त्यसको प्रभाव ब्याजदरमा पर्छ । जसले सेयर बजारमा असर गर्छ । ब्याजदर अस्वभाविक रुपमा माथि गयो भने धितोपत्र बजारमा के हुने रहेछ त्यो हामीले देखेका छौ । मैले अहिले धितोपत्र बजार भनेको छु पुँजी बजार भनेको छैन ।

धितोपत्र बजार पुँजी बजारमा फरक छ । पुँजी बजारका सबै उपकरणहरु धितोपत्र होइनन् र धितोपत्रका सबै उपकरण पुँजी बजार होइनन् ।

हामीसँग ऋणपत्र बजारको ठूलो सम्भावना छ । सेयर बजारलाई कसरी भाइब्रेन्ट बनाउने र मौद्रिक नीतिको छाया कसरी पर्न नदिने । त्यसको लागि प्रोत्साहनको व्यवस्था कसरी गर्ने ?

बजारमा सघन र गहिरो तरिकाले काम गर्नुपर्ने हुन्छ ।

साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरको कल्पना गर्दा निजी क्षेत्रले दुई लगानीको कल्पना हामीले गरेका छौ । बैकिङ प्रणालीबाट हुने ४ देखि ५ खर्ब हो । हामीले १० खर्बको लगानी चाहिएको छ । बैंकिङ प्रणालीबाट त्यही सिसिडी,त्यही पुँजी त्यसको हिसाबले गर्दा लगानी कोहीपनि पुग्दैन । बैंकले त्यो नर्म छोड्न मिल्दैन उद्योगीलाई पैसा पुग्दैन । त्यसको लागि हामीले पुँजी बजारका बैकल्पिक उपायहरु भनेको धितोपत्र बजारको विकास गर्ने हो ।

मैले यसमा स्वपुँजी भनेको छु । बैंकले ३० प्रतिशत स्वपुँजी नहाल्दासम्म ऋण दिदैन । अनि तानतुन गरेर ३० प्रतिशत पुर्याए झै गर्यो । डेब्ट फाइनान्सिङ गरायो । त्यसको जोखिम जति बैंकलाई लगेर जम्प गरायो । त्यस्तो प्रणाली हामीले खोजेको होइन । हामीले जोखिम बाड्न खोजेको हो । जोखिम बाड्नेमा झेली गर्यो भने धितोपत्र बजारको कसरी बिकास हुन्छ । हामीले लगानी र ऋणमा झेली नगरौ ।

दीर्घकालिन आयोजनामा ठूलो ऋणको माग छ । उद्योगहरुपनि पूर्वाधार निर्माण खालेहरु बढी आएका छन् । अहिले हामीले तत्काल प्रतिफल दिने चाउचाउ कारखाना खोलेका छैनौ । कल डिपोजिटमा पैसा लिएर दीर्घकालिन परियोजनामा ऋण दिन सकिदैन । त्यसमा तरलताको इस्यु छ । कल डिपोजिट लिएर लामो समयको लागि ऋण दिन मिल्दैन ।

यसमा मैले बैंकरहरुलाई के भनेको थिए । अहिले धेरै बन्न छाडे । अहिले भने भने फेरी अर्थमन्त्रालयले हस्तक्षेप गर्यो भनेर लेख्न बेर लगाउनुहुन्न । मुलुकको विकासको लागि चाहिने कुरा गर्नुपर्छ । त्यो विवेक नपुर्याएको भने अहिले के अवस्था हुने थियो । बैंकहरुलाई संयमित हुन नभनेको भए जलविद्युत्का आयोजनाहरु कुनैपनि संचालन हुन थिएनन् ।

ब्याजदरले अस्वभाविक रुपमा उतारचढाव नआओस भन्ने हामीले चाहेका छौ । हाम्रोमा बन्डको मार्केट विकसित भएन । धेरै समयपछि केही बन्डहरु जारी हुने स्थिती भएको छ । बन्ड मार्केटमा केही बिकृति देखिएको छ । यसलाई धितोपत्र बोर्डले हेर्नुपर्छ । बन्ड मार्केट र सेयर बजारलाई सन्तुलिन बनाउनुपर्छ ।

हाम्रो जुन प्रकारको लगानीको माग छ त्यसलाई दीर्घकालिन लगानीले मात्र सम्बोधन गर्नुपर्छ । बन्ड मार्केटलाई कसरी लिक्विड गर्ने । सरकारी बण्ड मार्केटलाई कसरी व्यवस्थित गर्ने त्यसको लागि संस्था पनि गठन भएको छ । निजी क्षेत्रको बण्ड मार्केटलाई विकसित गर्नुपर्ने छ । यदी ९ देखि १० प्रतिशत ब्याजदरमा बण्ड जारी भएको छ भने ऋणीलाई कर्जाको ब्याजदर कति हो त्यो स्पष्ट हुन्छ । ब्याजदरमा उतारचढाव समेत आउदैन । यसको लागि धितोपत्र बोर्ड र बैंकिङ प्रणालीले काम गर्नुपर्छ ।

अब केही बजार सुधारका कुरा गरौ । कहिले वित्तीय उपकरणमा भ्याट लाग्छ भनेको छ पुँजीगत लाभकरमा कति प्रतिशत लाभकर लाग्छ भनेको छ । यसका अन्यौलहरु हटेका छन् । वित्तीय उपकरणमा भ्याट नलाग्ने कुरा कार्यान्वयनमा भइसकेको छ । पुँजीगत लाभकर साढे ७ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने प्रस्ताव गरिएको छ । यसले बजारमा देखिएका अन्यौलहरु हटेका छन् ।

सेयर बजारमा महिलाको सहभागिता बढाउनुपर्ने छ । हामीले घरजग्गा रजिष्ट्रेशनमा छुट दिएर हेर्यौ । त्यो कोशिस गर्दा छुटको अनुपात २५ प्रतिशत पुगेको छ । सहरी घरजग्गामा महिलाहरुको स्वामित्व ८ प्रतिशतबाट २८ प्रतिशत पुगेको छ ।

सानो एउटा सुधारले यस्तो हुने छ । सेयर बजारमा महिलाहरु स्वामित्व लगानी बढाउन के गर्नुपर्छ । धितोपत्र बोर्डले अलिकति गृहकार्य गरोस । पुँजीगत लाभकर कम गर्नेपनि हुनसक्छ । यो वर्षमा मिलेन । अब विस्तारै जमिनको महत्व काम र वित्तीय उपकरणको महत्व बढी हुँदै जादा खेरी भोलिका दिनमा सेयर स्वामित्व बढाउन जरुरी छ । अहिले १० कित्ता सेयर आइपिओमा बाड्ने कुरा छ । यसमा महिलालाई केही आरक्षण गर्न सकिन्छ । त्यो गर्दा म खुसी नै हुन्छु ।

रेमिटेन्सको पैसा उपभोगमा गयो भनेका छौं । त्यो पैसा घरजग्गामा गएको छ भनेका छौ । हामीले सुरु गरेका आयोजनामामा रेमिटेन्सको पैसा लगानी गर्न सक्छौ । बैंक र धितोपत्र बोर्डले सहकार्य गर्न सक्छौं । बैदेशिक रोजगारीमा जानेहरु बैंक खाता नखोली जान नपाउने र त्यो पैसा आफ्नो खातामा पठाएर निश्चित रकम तोकिएका आयोजनामा लगानी गर्न सक्ने वातावरण हामीले बनाउन सक्छौ ।

कमोडिटिज मार्केट धेरै समयसम्म अनौपचारिक ढंगले चलेको छ । औपचारिक गरेपनि संस्थागत गर्न सकिएको छैन । यी बजारहरु जोखिममा आधारित रहेर काम गर्ने हुन् । त्यसैले नियमनकारी निकाय थप चनाखो हुनुपर्छ ।

धितोपत्र बोर्डको २७ औं वार्षिकउत्सवमा अर्थमन्त्री खतिवडाले व्यक्त गरेको बिचार


क्लिकमान्डु