मोरङ व्यापार संघको निर्वाचनमा १८ पदका लागि २९ को उम्मेदवारी
मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको १८ पदका लागि २९ जनाले सोमबार उम्मेदवारी दर्ता गरेका छन् ।
वाणिज्यतर्फको ८ पदका लागि १४ जना, उद्योगतर्फ ८ पदका लागि १३ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
वस्तुगततर्फका २ पद भने निर्विरोध भएको छ । निर्विरोध हुनेमा सञ्जयकुमार श्रेष्ठ र सन्तनु रेग्मी छन् । श्रेष्ठ वर्तमान कार्यकारिणी समितिका सदस्य हुन् भने रेग्मी पहिलो पटक संघमा भित्रिएका छन् ।
संघको अध्यक्षका दावेदार भनिएका प्रकाश मुन्दडाले उद्योग र वाणिज्य दुवैतर्फ उम्मेदवारी दिएका छन् । मुन्दडा अहिलेको कार्यकारिणी समितिका वरिष्ठ उपाध्यक्ष हुन् ।
समितिका महासचिव नवीन रिजालले पनि दुवैतर्फ उम्मेदवारी दर्ता गरेका छन् । अहिलेका उद्योग तर्फका उपाध्यक्ष सुनिल टिवडेवालले पनि उद्योग र वाणिज्य दुवैतर्फ उम्मेदवारी दिएका छन् ।
वाणिज्यतर्फका उपाध्यक्ष सुशीलकुमार जोशीले भने यसपटक कतै पनि उम्मेदवारी दिएका छैनन् । जोशी २०४७ सालदेखि संघको कार्यकारिणी समितिमा निरन्तर छन् । उनी ताराचन्द खेतान(२०४७–४९) अध्यक्ष हुँदा कार्यकारिणी समितिमा कोषाध्यक्ष थिए ।
वि.सं.२०५८–२०६० मा अर्को गुटमा परेका कारण एक पटक चुनाव हार्नुबाहेक सबैजसो निर्वाचनमा पहिलो, दोस्रो स्थानमा आफूले जित्दै आएको जोशीले बताए । यो पटक स्वेच्छाले व्यापार संघ छोडेको उनले बताए । यस पटक संघका पूर्वअध्यक्ष महेश जाजूले आफ्ना छोरा आशीष जाजूलाई ‘डेब्यू’ गराएका छन् ।
आशीषले उद्योगतर्फ उम्मेदवारी दिएका छन् । व्यापार संघको निर्वाचनमा महेश जाजू मुख्य योजनाकारका रुपमा मानिन्छन् ।
व्यापार संघको नेतृत्व सकेसम्म साझेदारभित्रै पार्ने रणनीतिक योजनामा उनी सफल हुँदै आएका छन् । सोमबार मनोनयन दर्ता गर्ने क्रममा मेघराज सिग्देल, सुकुमार सेन र धीरजराज पोखरेलले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनीहरूले उद्योगतर्फ उम्मेदवारी दर्ता गरेका हुन् ।
व्यापार संघको ३१ औं कार्यकारिणी समितिको निर्वाचनताका वर्तमान नेतृत्वसँग पराजीत भएको राजेन्द्र राउतको समूहबाट उनीहरूले उम्मेदवारी दिएको बुझिएको छ ।
संघका पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका राउतले अहिले भइरहेको निर्वाचनमा मतदाताको नाम नलेखी फर्मको मात्रै नाम उल्लेख भएकोमा विरोध गर्दै उजुरीसमेत दिएका थिए ।
जिल्ला प्रशासनसमेतमा उजुरी परेपछि प्रशासनले संघसँग तीन बूँदे प्रश्न गरी जवाफ मागेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार संघको नाममा पत्र लेख्दै सदस्यता नवीकरण गर्न १ हजारबाट बढाएर २५ हजार पुर्याएको छ ।
निर्वाचन मिति २०७६,०१,२२ लेखिएको र फर्म कम्पनीको हकमा प्रोप्राइटरको पूरा नामथर उल्लेख नभएको विषयमा जवाफ पेश गर्न निर्देशन दिएको थियो । निर्देशनपछि संघबाट चित्तबुझ्दो जवाफ आएपछि सोमबार साँझ ५ बजेबाट निर्वाचन कार्यक्रम फुकुवा गरेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।
‘व्यापार संघले चित्तबुझ्दो जवाफ दिनुभयो, त्यही भएर सोमबार ५ बजेबाट निर्वाचन कार्यक्रम सुचारु गर्न निर्देशन दिइसक्यौं’ प्रजिअ केसीले भने । यस्तै प्रशासन कार्यालयबाट पत्र प्राप्त भएपछि संघले सोमबार मतदाता नामवलीअन्तर्गत फर्मको नामसँगै सञ्चालकको नामसमेत भएको सूचि भित्तामा टाँस गरेको छ ।
यसअघि फर्मको मात्रै नाम उल्लेख गरेकोमा मतदाता नामवलीउपर संघकै पूर्वअध्यक्ष र वरिष्ठ उपाध्यक्षले दावी विरोध गरेका थिए । उनीहरूले फर्मको नामसँगै प्रोप्राइटरको नाम पनि खुलाउनुपर्ने माग गरेका थिए ।
निर्वाचन समितिले मतदाताको नाम उल्लेख नगरी वाणिज्यतर्फ ३९६, उद्योगतर्फ २९६ र वस्तुगततर्फ ४ गरी ६ सय ९६ फर्मको नाममात्रै मतदाताको नामावलीका रुपमा टाँसेको थियो ।
जेठ २४ गते हुने निर्वाचनबाट संघको ३२ औं कार्यकारिणीका लागि वाणिज्य क्षेत्रका ८, उद्योग क्षेत्रका ८ र वस्तुगत क्षेत्रका २ जना सदस्य निर्वा्चित हुँदैछन् । उनीहरूबाटै अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायतका पदाधिकारी र सदस्यहरू चयन हुने व्यवस्था छ ।