पुसदेखि चाइना गेजुवा बेपत्ता, १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना अन्यौलमा



काठमाडौं । सरकारले १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न निदे निर्णय गरेको चाइना गेजुवा बेपत्ता भएको छ । ०७५ पुस ४ गतेदेखि चाइना गेजुवा बेपत्ता भएपछि राष्ट्रिय गौरबको यो आयोजना अन्यौलमा परेको छ ।

गत पुस ४ गतेदेखि चाइना गेजुवा सम्पर्कमा नभएको उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय सभाका सदस्यहरुलाई जानकारी दिए ।

सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय हित तथा सरोकार समितिको बैठकमा उर्जामन्त्री पुनले यस्तो जानकारी दिएका हुन् ।

‘गत पुस ४ गतेदेखि गेजुवा सम्पर्कमा आएको छैन,’ मन्त्री पुनले भने, ‘बुढीगण्डकी आयोजना नेपाल आफैंले बनाउनुपर्छ ।’

केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएको केही समयमै बुढीगण्डकी आयोजना चाइना गेजुवालाई बनाउन दिने निर्णय गरेको थियो । त्यसअघिको शेरबहादुर देउवाको सरकारले नेपालले नै बनाउने निर्णय खारेज गर्दै ओली सरकारले चिनियाँ कम्पनीलाई बनाउने जिम्मा दिएको थियो ।

प्रधानमन्त्री ओलीको मनित्रपरिषदले उर्जा मन्त्रालयलाई गेजुवासँग निर्माणको मोडालिटी र लगानीको स्रोत लगायतका विषयमा छलफल गर्ने जिम्मा दिएको थियो ।
त्यसका लागि उर्जा मन्त्रालयले कमिटि नै बनाएको थियो ।

‘२०७५ असोज १४ गते, पुस ३ गते र ४ गते गरी गेजुवासँग ३ पटक छलफल भयो,’ मन्त्री पुनले भने, ‘त्यसपछि गेजुवाको अत्तोपत्तो छैन ।’

मन्त्रालयले बुढीगण्डकी आयोजनाको फ्रेमवर्क तयार पारेपनि गेजुवा सम्पर्कबिहीन भएका कारण आयोजना अन्यौलमा परेको उनले बताए ।

‘बुढीगण्डकी आयोजना सरकारले नै बनाउनुको बिकल्प छैन,’ मन्त्री पुनले भने ।


पुष्प दुलाल