सरकारलाई दैनिक सवा ४ अर्ब खर्च गर्न दबाब



काठमाडौं । सरकारलाई दैनिक सवा ४ अर्ब रुपैयाँ खर्च गर्न दबाब परेको छ । आर्थिक वर्ष सकिन डेढ महिना पनि बाँकी छैन । तर, यो अवधिमा सरकारले विकास खर्च गर्न सकेको छैन ।

वर्षान्तमा आएर सरकारलाई विकास खर्च बढाउन दबाब परेको छ ।

आर्थिक वर्ष २०७५/७६ सकिने अब जम्मा ४१ दिनमात्रै बाँकी छ । तर, यो अवधिमा १ खर्ब ७२ अर्ब ९९ करोड रुपैयाँ विकास बजेट खर्च गर्न बाँकी छ । यो बजेट सक्नका लागि सरकारले दैनिक ४ अर्ब २२ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ छुट्याएको थियो । जेठ १८ गतेसम्म सरकारले जम्मा १ खर्ब ४१ अर्ब १० लाख रुपैयाँ अर्थात् ४४ प्रतिशत मात्रै खर्च गरेको छ ।

सरकारले चालु अवमा ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । जेठ १८ गतेसम्ममा सरकारले लक्ष्यको ७१.०५ प्रतिशत अर्थात् ५ खर्ब ९० अर्ब ६१ करोड ६३ लाख रुपैयाँमात्रै राजश्व संकलन गरेको छ ।

अझै २ खर्ब ४० अर्ब ७० करोड १७ लाख रुपैयाँ राजश्व संकलन गर्न बाँकी छ । आर्थिक वर्ष सकिन ४१ दिनमात्रै बाँकी छ ।

सरकारले जेठ १ गतेसम्ममा ६७.८२ प्रतिशत कर संकलन गरेको थियो । १८ दिनको अवधिमा ३.२३ प्रतिशतले बढेको छ ।

जेठ १८ गतेसम्ममा ६७.३७ प्रतिशत चालु खर्च भएको छ । चालु आवको लागि ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा ५ खर्ब ६९ अर्ब ६० करोड ८६ लाख रुपैयाँ खर्च भइसकेको छ ।

सरकारले चालु आवमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा अहिलेसम्म ७ खर्ब ६७ अर्ब ३० करोड ८८ लाख रुपैयाँ अर्थात ५८.३९ प्रतिशत बजेट खर्च भएको छ ।


क्लिकमान्डु