योगेश भट्टराईले भने – सांसदलाई दिएको ६ करोडको विरोध गर्नुको औचित्य छैन्



काठमाडौं । सांसद योगेश भट्टराईले सांसदलाई दिएको ६ करोड रुपैयाँको विरोध गर्न नहुने धारणा व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा राजस्व र व्यवको विषयमा भएको छलफलमा सांसद भट्टराईले उक्त रकम सांसदले चलाउन नपाउने र त्यो पैसामा आर्थिक हिसाबले नेतृत्व लिन समेत नमिल्ने बताए ।

उनले त्यसको विरोध गर्नुको कुनै अर्थ नरहेको बताउँदै भने ‘त्यो पैसा सांसदहरुले चलाउने होइन, किन विरोध गर्नु, त्यसरी सांसदले नेपालमा मात्रै होइन, भारत, अष्ट्रेलिया, बेलायतका सांसदले पनि त्यसरी नै पैसा लैजाने गरेको समेत दृष्टान्त छ ।’

उनले आगामी आवको बजेटले जनता र सरकारको सम्बन्धलाई जोडेको बताए । ‘वि.स. २०५१ सालको बजेट अनुसार नै अहिलेको बजेट आएको छ, आफ्नो गाँउ आफै बनाऊ योजनालाई महत्व दिएको छ’ उनले भने ।

बजेटमा तीन खम्बे अर्थनीतिलाई प्रभावकारी रुपमा समेटिएको र सहकारीलाई विशेष प्राथमिकतामा राखेको समेत बताए ।

हुलाकी राजमार्ग प्राथमिकतामा राख्दा दक्षिणमा सीमा जोडिएका जिल्लामा आर्थिक सामाजिक र सांस्कृती क्षमतालाई माथि उठाउने र मध्यपहाडी राजमार्गले पनि पहाडी भेगका जनताको आर्थिक सामाजिक र सांस्कृतिक क्षमतालाई उकास्ने उनको भनाइ छ ।

आगामी आवमा माथिल्लो तामाकोशीसहित १ हजार मेगावाट केन्द्रीय प्रसारण लाइनमा जोडिनु सबै नेपालीका लागि खुसीको क्षण हुने उनको तर्क छ ।

सडक बिजुली, पर्यटन अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै बजेटले आगामी आवमा राम्रो प्रभाव राख्ने उनको धारणा छ । भट्टराईले पानी जहाज लगायतका योजना भने आगामी पुस्ताका लागि प्रभावकारी हुने धारणा राखे ।

अहिलेको बजेट केही वितरणमूखी पनि देखिन्छ, आर्थिक, सामाजिक, शैक्षिक रुपमा पछि परेका समूदायका लागि यो राम्रो रहेको बताए । नेपालले आन्तरिक ऋण र बाह्य ऋणबाट बजेट डेफिसिट सन्तुलनमा ल्याउनु पर्ने धारणा राखे ।

५ लाखलाई रोजगारी दिन सकेको खण्डमा देश विस्तारै माथि उठने उनको तर्क छ । आगामी दश वर्ष नेपालमा आर्थिक विकासका हिसाबले निकै महत्वपूर्ण वर्ष भएको बताए ।

जनसंख्याको हिसाबले लाभ लिन सकेको खण्डमा जापान, कोरिया, चीनले जसरी नेपालले विकास गर्न सक्ने उनको विश्लेषण छ । नेपालमा अझै पनि ५८ प्रतिशत नेपाली पसिनाले नुहाउने क्षमता रहेका मान्छे रहेको र त्यसको लाभ राज्यले लिन सक्नुपर्ने उनको तर्क छ ।

विगतमा आयोजना समयमा नै नसकिने, पुँजीगत खर्च समयमा नै नहुँदा जनताले त्यसको लाभ लिन नसकेको बताए । उनले यसअघि भएका कमजोरीबाट पाठ सिकेर अघि बढन सबैलाई आग्रह गरेका छन् ।


क्लिकमान्डु