आज सगरमाथा दिवस, स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै




काठमाडौं । आज १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६६ वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा आफ्नो पाइला राखेका थिए ।

दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको ३७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमअनुसार बुधबार बिहान ठमेलबाट प्रभातफेरीपछि राष्ट्रिय सभागृहमा औपचारिक समारोह आयोजना गरिनेछ ।

समारोहमा हिलारीकी छोरी सारा हिलारीलगायत विदेशी पाहुनाको सहभागिता रहनेछ । सो अवसरमा ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’ र ‘तेञ्जिङ हिलारी पुरस्कार’ प्रदान गरिनेछ । यस पटक सगरमाथा हिमाल सफाइ अभियानमा खटिएका शेर्पा टोलीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सगरमाथा राष्ट्रको गौरव भएकाले यसको प्रवद्र्धनका लागि सरकारले विशेष प्रथामिकता दिएको बताए ।

सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई महत्व दिएको सन्दर्भमा पनि सगरमाथाले आम मानिसको ध्यान केन्द्रित गरेको छ । सगरमाथाको शान र गौरवलाई चिरस्थायी बनाइराख्न वातावरण र पर्यावरणीय पक्षलाई ध्यान दिन जरुरी देखिएको सरोकारवालाले औँल्याउने गरेका छन् ।

विश्वको सबैभन्दा ठूलो हिमाल सगरमाथा ८ हजार ८४८ मिटर आरोहणका क्रममा हालसम्म २९० भन्दा बढीको निधन भइसकेको छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् ।
सोलुखुम्बुकी स्व पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गरेका थिए । जापानी नागरिक स्व जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छन् ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४ औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको यस याममा गत जेठ ७ गते आफ्नै २३ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ रेकर्ड बनाएका हुन् । उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका हुन ।

कामिरितापछि हालसम्म आप्पा शेपा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाको १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेकी छन् ।

पर्यटन विभागका अनुसार सन् २०१९ को वसन्तकालीन मौसममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । यस मौसममा सगरमाथासहितका ३२ हिमाल आरोहणका लागि ११६ आरोही समूहका ८९५ आरोहीले आरोहण अनुमति लिएका छन् । यस यामको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।

यस पटकको सगरमाथा आरोहण आजबाट सकिएको विभागले जनाएको छ । यस याममा ६०० भन्दा बढीले सगरमाथा आरोहण गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो । कति सङ्ख्यामा आरोहण भयो भन्नेबारे पुष्टि भइनसकेको विभागले जनाएको छ । सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।

दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्रा्ष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो ।


क्लिकमान्डु