पैसा बाँड्न योजना आयोगले बढायो बजेटको सिलिङ, उपाध्यक्ष कँडेल भन्छन्- यसकारण बढायौं
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पपुलिस्ट बजेट ल्याउने भएका छन् । पपुलर कार्यक्रमहरुलाई समेटेका कारण योजना आयोगले दिएको सिलिङले नपुगेपछि आज आयोगले सिलिङ बढाएको छ ।
आयोगको मंगलबार बिहान बसेको बैठकले झन्डै १ खर्ब रुपैयाँले बजेटको सिलिङ बढाएको हो ।
आयोगको आजको बैठकले नयाँ बजेटको सिलिङ १५खर्ब ७७ अर्ब रुपैयाँ पुर्याएको हो । यसअघि आयोगले १४ खर्ब ९६ अर्ब रुपैयाँको सिलिङ दिएको थियो ।
‘धेरै कार्यक्रमहरुलाई समेट्नुपर्ने चाप परेपछि बजेटको सिलिङ बढाउन अर्थ मन्त्रालयले आग्रह गरेपछि हामीले सिलिङ बढाएका हौं,’ उपाध्यक्ष कँडेलले क्लिकमाण्डूसँग भने ।
विभिन्न मन्त्रालयहरुले १७ खर्ब रुपैयाँभन्दा बढी बजेट माग गरेका थिए । त्यसलाई सम्बोधन गर्नका लागि सिलिङ बढाउनु परेको कँडेलले जानकारी दिए ।
अर्थमन्त्रीले वृद्धभत्ता र कर्मचारीको तलब बढाउनेदेखि सांसदलाई बाँड्ने पैसा बढाउँदैछन् । त्यसैगरी, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका वितरणमूखी कार्यक्रममा मात्रै करिब झन्डै १०० अर्ब भार बढाउने भएका छन् ।