अष्ट्रेलियाले आफ्ना नागरिकलाई भन्यो- नेपाल जाँदा उच्च सर्तकता अपनाउनु



काठमाडौं । अष्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा उच्च सर्तकता अपनाउन भनेको छ । राजधानीमा बम विस्फोट र त्यसबाट ४ जनाको ज्यान गएपछि अष्ट्रेलियाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई सर्तक बनाएको हो ।

अष्ट्रेलियाले नेपाललाई लेभल २ मा राखेको छ । यसलाई प्रष्ट्याउँदै भनिएको छ, ‘लेभल २ मा राख्नुको अर्थ हो, तपाई अष्ट्रेलियाका ठूला शहरको तुलनामा नेपालमा धेरै जोखिम छ ।’

लेभल २ मा राख्नुको अर्थ नेपालको कमजोर कानूनी प्रणाली, कमजोर व्यवस्थापकीय कार्यशैली भएको मुलुक हो ।

‘कतिपय अवस्थामा यस्ता ठाउँहरुमा हिंसात्मक घटना हुन सक्छन् । हामीहरु यस्ता ठाउँहरुमा नजाउनु त भन्दैनौ, तर तपाईले जानुभन्दा अगाडि निकै सतर्कता अपनाउनु जरुरी छ’ वेवसाइटमा भनिएको छ ।

अष्ट्रेलियाले ४ लेभलमा देशहरुलाई विभाजित गर्दै उक्त देशमा भ्रमण गर्न जाने आफ्ना नागरिकलाई सचेत गराउँदै आएको छ ।

अष्ट्रेलियाले लिविया, मालि, निगर, सोमालिया, साउथ सुडान, सिरिया, अफगानिस्तान जस्ता देशलाई लेभल ४ मा राख्दै भ्रमण नगर्न भनेको छ ।

त्यस्तै, सार्क मुलुकहरुमा मालिदभ्स र भुटानलाई लेभल १ मा, नेपाल र भारतलाई लेभल २ मा, श्रीलंका, बंगलादेश र पाकिस्तानलाई लेभल ३ मा र अफगानिस्तानलाई लेभल ४ मा राखेको छ ।

सरकारले सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरी सोही अनुरुप अगाडि बढ्दा यस्ता निर्णयले अप्ठ्यारोमा पार्ने निश्चित छ ।


क्लिकमान्डु