ढोका थुनेर अर्थमन्त्री डा. खतिवडा बजेटको अन्तिम तयारीमा व्यस्त, बजेट माग्नेको भीड घटेन (भिडियो)



काठमाडौं । सरकार यतिबेला आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । बजेट आउनु ३ दिन अगाडि यसको तीव्रता अझ बढेको छ ।

झण्डै दुई महिनादेखि काम गरिरहेका कर्मचारीहरु अहिले ढोका नै बन्द गरेर बजेट निर्माणमा जुटेका छन् । अनुमति बिना प्रवेश निषेध गरिएको छ । प्रहरीले सुरक्षा दिइरहेको छ । बजेट माग्नका लागि माननीयहरुको बाहिर भीड देखिए पनि भित्र प्रवेश भने कसैलाई पनि दिइएको छैन् ।

समय छोट्टिँदै गएपछि अर्थमन्त्री डा. युवराज खतिवडासहित बजेट महाशाखा लगायत सबै महाशाखाका कर्मचारी निकै व्यस्त देखिएका छन् । यतिसम्म कि मन्त्रिलगायत सबै कर्मचारीहरुले बिहानको खाना समेत मन्त्रालयको क्यान्टिनबाट मगाएर खाँदै आएका छन् ।

अर्थमन्त्रालयले सूचना नै टाँसेर बजेट निर्माण भइरहेकाले अर्थ मन्त्रालय र बजेट तथा कार्यक्रम महाशाखाका कर्मचारी बाहेक अरूलाई भित्र प्रवेश गर्न दिएको छैन् ।

बिहानैदेखि मन्त्रालयमा आएर अबेरसम्म कर्मचारीहरु काम गरिरहेका छन् । अर्थमन्त्रालय बाहिर बजेटमा कार्यक्रम माग्न जानेहरुको भीड छ तर अर्थमन्त्रीसँगै कर्मचारीहरु भने मन्त्रालयको ढोका बन्द गरेर बजेट निर्माणमा व्यस्त देखिएका छन् ।

बजेट निर्माणको उत्तराद्धमा आइपुग्दा मन्त्रालयका कर्मचारी र क्यान्टिनका कर्मचारी बाहेकलाई मन्त्रालयमा प्रवेश निषेध गरिएको छ । मन्त्री डा. खतिवडासहित कुनै पनि कर्मचारीलाई बाहिरका मान्छेसँग भेटघाटमा रोक लागाइएको छ । मन्त्रालयभित्र जाँदा सबै कार्यकक्ष बाहिर प्रहरी मात्रै छन् । मन्त्रालयभित्रको वातावरण भने निकै शान्त छ ।

ढोका थुनेपनि अर्थमा माग्ने माननीयको भिड
देश संघीयतामा गएपछि स–साना आयोजना प्रदेश सरकारको हातमा पुगिसकेका छन् । तर पनि केही सांसदहरु अझै पनि अर्थ मन्त्रालयमा धाउने क्रम रोकिएको छैन ।

अघिल्ला वर्षहरुमा बजेट बनाउँदा अर्थमा आफ्नो निर्वाचन क्षेत्र तथा यक्त क्षेत्रमा हुने विकास निर्माणका लागि बजेट मान्ते माननीयको भिड लाग्थ्यो । चालु आवको बजेट निर्माणको क्रममा यो क्रम केही न्यून भएको थियो ।

आगामी आवको बजेट निर्माणका लागि पनि विभिन्न जिल्लाका माननियहरु बजेट माग्न आउने क्रम भने जारी नै छ ।

माननीयहरु मन्त्रालयमा पुगेपनि मन्त्री डा. खतिवडालाई भेटन निकै गाह्रो छ । मन्त्रालयको मुलगेटका साथै मन्त्रीको कार्यकक्षमा प्रवेश गर्ने गेटमा समेत ताला लगाइएको छ ।

तर पनि माननीयहरु मन्त्रालयमा जान छाडेका छैनन् । स्रोतका अनुसार पहिला माननीयहरु आफ्नो प्राथमिकताको आयोजना बजेटमा पार्न आउँथे भने अहिले आयोजनाको फाइल कतै रोकियो कि भनेर सम्झाउन भन्दै आउने गरेका छन् ।

उनीहरुले मन्त्री तथा मन्त्रालयका कर्मचारीलाई भेट्न नपाए पनि मन्त्रीको सहयोगीलाई भेटेर आफ्नो आयोजना बजेटमा जसरी पनि राखिन माग गरेका छन् ।

देश संघीयतामा गएपछि पनि विभिन्न जिल्लाका माननिय मन्त्रालयमा नै बजेट माग्नु आउनुलाई अभिभावकसँग सन्तानले भाग खोजे जस्तो भएको मन्त्रालयका अधिकारीको भनाइ छ ।

 

 


क्लिकमान्डु