सगरमाथामा ट्राफिक जाम !



काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको संख्या बढेसँगै बुधबार सगरमाथामा ट्राफिक जाम भएको छ । सगरमाथबाट आएको एफपीको तस्बिरमा पूरै चुचुरोमा आरोहीहरु लामबद्ध भएको देख्न सकिन्छ ।

हिमालका चुचुरोमा वल्लो छेउदेखि पल्लो छेउसम्म आरोहीहरु हिँडिरहेका छन् । बुधबार मौसम सफा भएकाले २ सयभन्दा बढी आरोहीहरु एकसाथ सगरमाथामाको शखिरमा पुग्न नेपाल र चीनतर्फबाट हिँडेका थिए ।

तर बीचबाटोमा दुबैतर्फबाट आएका टोली मिसिएपछि ट्राफिक जाम भएको थियो ।

सगरमाथा आरोहणका क्रममा एक जना अमेरिकन नागरिक र एक जना भारतीय नागरिकले ज्यान गुमाएका छन् । अमेरिकी नागरिक डोनाल्ड ल्याइन क्यास, (५५) फोटो खिच्ने क्रममा निधन भएको थियो ।

त्यस्तै, ५५ वर्षे भारतीय नागरिक अञ्जली कुलकर्नी चुचुरोमा पुग्ने बेलामा खसेर मृत्यु भएको थियो । भीडका कारण शिखरमा पुग्नका लागि समय लागेका कारण उनको मृत्यु भएको हो । उनको हिलारी स्टेप नजिकै मृत्यु भएको थियो ।

यो वर्षको यस सिजनमा मात्रै कुल ३८१ मानिसहरुले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । जसमध्ये १४ जना नेपाली र ३६७ जना विदेशी नागरिक छन् ।

सगरमाथा आरोहणका लागि अनुमति लिनका लागि मात्रै प्रत्येक विदेशी नागरिकले ११ हजार अमेरिकी डलर बुझाउनुपर्छ । त्यस्तै, तिब्बतको क्षेत्रबाट आरोहणका लागि १४० जनाले अनुमति लिएका छन् ।

गत वर्ष कुल ८०७ जनाले आरोहणको अनुमति लिएका थिए । र, यो संख्या यो वर्ष बढ्ने देखिएको छ ।


क्लिकमान्डु