राष्ट्र बैंकले भन्यो- निक्षेपको तुलनामा कर्जा बढी हुँदा वित्तीय स्थायित्वमा समस्या



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले निक्षेपभन्दा कर्जा बढी प्रवाह गर्दा वित्तीय स्थायित्वमा समस्या भएको टिप्पणी गरेको छ ।

मौद्रिक नीतिको त्रैमासिक समिक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमाभित्रै रहने भएतापनि चालू खाता तथा शोधनान्तर स्थिति घाटामा रहेको अवस्था रहेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भएको वृद्धि भन्दा उच्च दरले कर्जा विस्तार हुदै गएकोले लगानी योग्य साधनमा दबाब कायमै छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएका कारण वित्तीय स्थायित्व प्रभावित हुनसक्ने जोखिम यथावत नै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

मौद्रिक नीतिको त्रैमासिक समिक्षामा कुनैपनि प्रकारको परिवर्तन भने गरिएको छैन ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.९ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १५.१ प्रतिशतले, विकास बैंकहरुको २८.६ प्रतिशतले र वित्त कम्पनीहरुको १४.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२.१ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु