नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर, समझदारी ऐतिहासिक कोसेढुंगा : मन्त्री पुन




काठमाडौं– नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गरेका हुन ।

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने सहमती भएको छ । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमुह बनाएर काम गर्ने समझदारी समेत बनेको छ ।

समझादरीअनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ ।

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जाको क्षेत्रमा आर्थीक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने गरी दुई देशबीच मंगलवार भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रुपमा लिएको बताए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको भन्दै त्यसका लागी लगानी र प्राविधिक सहयोग गरिदिन आग्रह गरे ।

उनले नेपालमा लगानीको लागी उपयुक्त अवसर रहेको भन्दै निजि क्षेत्रलाई समेत जलविद्युत क्षेत्रमा लगानीको लागी प्रेरित गरिदिन आफ्ना समकक्षी मन्त्रीलाई प्रस्ताव गरे ।

अष्ट्रियाको तर्फबाट त्यहांका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले अष्ट्रिया सरकार नेपाल सरकारका आयोजनाहरुमा सहयोग,लगानी र सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे । उनले सरकारी आयोजनाहरुमा प्राविधिक र आर्थीक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘जलविद्युत र वैकल्पिक उर्जाको क्षेत्रमा हाम्रो राम्रो र लामो अनुभव छ । यो अनुभव हामी नेपालसंग समेत शेयर गर्न चाहन्छौ ।’ मन्त्री रेईचार्डटले हस्ताक्षर कार्यक्रममा भने ।

मन्त्री पुनले वैकल्पिक उर्जा र जलविद्युतको क्षेत्रमा निजी र सरकारी तह दुवैमा सहकार्य अघि बढाउने विषयमा समझदारी वनेको जानकारी दिए ।

६० प्रतिशत उर्जाको स्रोत जलविद्युत रहेको अष्ट्रिया जलविद्युत क्षेत्रको प्रविधिका लागी समेत विश्व प्रसिद्ध छ । अष्ट्रियामा एन्ड्रिजलगायतका विश्व प्रसिद्ध कम्पनी समेत छन् ।


क्लिकमान्डु