जलविद्युत् कम्पनीले आइपिओ निष्कासन अगाडि विद्युत् नियमन आयोगबाट स्वीकृति लिनुपर्ने



काठमाडौं । जलविद्युत् कम्पनीले अबदेखि सार्वजनिक निष्कासन(आइपिओ) जारी गर्दा विद्युत् नियमन आयोगको अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।

हालसम्म विद्युत क्षेत्रमा प्रत्यक्ष नियमन निकायको अभाव भइरहेकोमा नेपाल सरकारले विद्युत नियमनआयोग ऐन, २०७४ र सो सम्बन्धी विद्युत नियमन आयोग नियमावली, २०७५ कार्यान्वयनमा ल्याइसकेको छ ।

यसै सन्दर्भमा विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ अनुसार विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम गर्न अनुमति प्राप्त कम्पनीवा संस्थाले सार्वजनिक रुपमा सेयर निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था भएको धितोपत्र बोर्डले जनाएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयानुसार विद्युत नियमनआयोग गठन भई कार्य संचालन शुरु गरेकोले विद्युत नियमनआयोग ऐन, २०७४ र विद्युत नियमन आयोग नियमावली, २०७५ बमोजिम गर्न गराउन भनी उक्त आयोगको पत्र मिति २०७६।०२।०५ मा बोर्डमा प्राप्त भएको सन्दर्भमा जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनका लागि बोर्डमा निवेदन पेशगर्दा तथा निवेदन दिई स्वीकृत हुन बाकीँ रहेका कम्पनीको हकमा समेत उल्लेखित व्यवस्था बमोजिम विद्युत नियमन आयोगको पूर्व स्वीकृति पेश गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु