उचाइ नाप्न सगरमाथा गएको सरकारी टोली फर्कियो, ६ महिनापछि मात्रै नतिजा आउने




काठमाडौं : सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली सगरमाथाको शिखरमा पुगेर फर्किएको छ । तर नतिजा आउन भने ६ महिना लाग्ने छ ।

शिखरलगायत विभिन्न ठाउँमा राखिएका जिपिएसमा सेट भएका तथ्यांकहरूका आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरी उचाइ टुंगो लगाएर पुष्टि गर्ने नापी विभागले जानकारी दिएको छ ।

नेपालले पहिलोपटक आफ्नै खर्चमा उचाइ नाप्ने कार्यका लागि खटाएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको थियो ।

टोलीले सगरमाथाको चुच्चोमा आधा घण्टा बिताएको थियो । टोली बिहीबारसम्म आधार शिविर आइपुग्नेछन् ।

नेपाल सरकारले आफ्नै पहलमा पहिलोपटक सगरमाथाको उचाइ नाप कार्य शुरू गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको विशेष पहलमा नापी विभागमार्फत् सगरमाथाको उचाइ नाप्नका लागि टोली खटाइएको हो ।

२०७२ सालको भूकम्पपछि ८८४८ मिटरको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ घटबढ भएको भन्ने भ्रम सिर्जना भएपछि सरकार आफैले सगरमाथाको नयाँ उचाइ मापन शुरू गरेको हो ।

यसअघि विं.स. २०१० मा सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ नापेर ८ हजार ८ सय ४८ मिटर कायम गरेको थियो । त्यसपछि २०५५ सालमा अमेरिकाले ८ हजार ८ सय ५० मिटर र २०६१ मा चीनले ८ हजार ८ सय ४४ र ४७ मिटर गरी दुइथरी उचाइ मापन गरेको थियो ।

सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली शिखरमा पुगेको हो । टोलीका सदस्य प्राविधिक रविन कार्की सहित क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले शिखरमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको बताइएको छ ।

टोलीका दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल लगायत शेर्पा गाइडको टोलीले भने आधार शिविरमा बसेर प्राविधिक सहयोगको काम गर्दै आएका छन् ।


क्लिकमान्डु