गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ३ किलोमिटर धावनमार्ग तयार, आकस्मिक अवतरण गर्न सकिने



काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको कााम सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का आयोजना निर्देशक प्रदीप अधिकारीले ३ हजार मिटर लामो धावनमार्ग कालोपत्रे सकिएको बताए ।

केही दिन पहिले बजेट अभावमा निर्माण व्यवसायीले काम रोकेका थिए । तर चौतर्फी आलोचना भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको थियो ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जत्तिकै क्षमताको विमानस्थलको धावनमार्ग तयार भएको छ । अब धावन मार्गमा मार्किङ गर्ने काम बाँकी रहेको छ । यस्तै लाइट जडानको काम सुरु हुनेछ ।

विमानस्थलाई आगामी भदौको तेस्रो सातादेखि व्यवसायिक रुपमा सञ्चालन गर्ने योजना अगाडि सारिएको छ । विमानस्थल एशियासी विकास बैंक, नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको लगानी रहेको छ ।

यस्तै विमानस्थलको कन्ट्रोल टावर रहने भवन तथा अन्य भौतिक संरचना निर्माणको काम समेत अन्तिम चरणमा रहेको छ । लाइट तथा अन्य काम सम्पन्न गर्न करिब डेढ महिना जति लाग्ने बताइएको छ ।

आकस्मिक रुपमा कुनै जहाज अवतरण गर्नुपर्ने भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकिने छ ।

विभिन्न ४ तहको कालोपत्रेको काम मंगलबार साँझदेखि सम्पन्न भएको हो । गौतमबुद्धको जम्स्थल लुम्बिनी आउन चाहने पर्यटकलाई सहज सेवा दिने लक्ष्यका साथ सो विमानस्थल निर्माण गरिएको हो ।


क्लिकमान्डु