राजमार्गमा पहुँच पुर्याउन मोरङ र सुनसरीमा ३५ सडक योजना थपियो



बिराटनगर । तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ राष्ट्रिय राजमार्गसँग जोड्न थप ३५ नयाँ सडक परियोजनाको काम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सुनसरी र मोरङ जिल्लाका दक्षिण इलाकाका बासिन्दालाई राष्ट्रिय राजमार्गको पहुँचमा जोड्न आयोजना थपिएको सडक डिभिजन कार्यालय बिराटनगरले जनाएको छ ।

गत वर्षदेखि उत्तर–दक्षिण सीमा आयोजनाको रुपमा सडक निर्माण थालिएको थियो । चालु आर्थिक वर्षदेखि त्यहि आयोजनालाई तराई–मधेश विशेष पूर्वाधार सडक कार्यक्रम अन्तर्गत राखिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुमराज न्यौपानेले जानकारी दिए ।

तराई–मधेशका दक्षिणी क्षेत्रलाई राष्ट्रिय राजमार्गसंगको पँहुचमा जोडने सरकारी योजना छ, डिभिजन प्रमुख न्यौपानेले भने, ‘बहुवर्षिय योजना अन्तर्गत दक्षिणी इलाकालाई उत्तरमा रहेको राष्ट्रिय राजमार्गसँग जोड्ने लक्ष्य छ’ ।

उनले नयाँ अवधारणामा राखेर एकै पटक दक्षिणी क्षेत्रका स्थानीय तहमा सडक डिभिजन कार्यालयले आयोजनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिए ।

ती आयोजनाको ठेक्का भएर मूल्याकंन भइ सम्झौताको चरणमा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । थप भएका सडक आयोजना अन्तर्गत कालोपत्रे, नाला, ढल तथा कल्भर्ट निर्माण छन् ।

चालु आर्थिक वर्षमा मोरङमा ३१ सडक आयोजना एकै पटक सञ्चालनमा छन् । सुनसरीमा ४ वटा सडक निर्माण हुनेछन् । यी सबै आयोजना समेत बहुवर्षिय योजना अन्तर्गत राखिएको छ ।

चालु आर्थिक वर्षमा सबै आयोजनाका लागि एक÷एक करोड रुपैयाँ विनियोजन भएको इन्जिनियर झाले जानकारी दिए । निर्माणाधिन र निर्माणको चरण सुरु गरेका सडकले भारतको सीमासम्मका नेपाली वस्तीलाई मुख्यराजमार्गसँग जोड्ने छन् ।

बहुवर्षिय योजना अन्तर्गत विस्तार गरिने सडकलाई ९ मिटर चौडाईको बनाइनेछ । सीमा सडकको रुपमा रहेका यी आयोजना निर्माणको काम समयमै सक्ने गरी ठेक्का मूल्यांकन र स्वीकृति प्रदान गर्ने काम गरिदैं आएको छ ।

सडक डिभिजन कार्यालय विराटनगरले ठेक्का आह्वान गरेकामध्ये २६ वटा आयोजनाको सम्झौता भइसकेको छ । गत वर्ष सुरु भएका ९ वटा सडक निर्माणको काम समेत जारी छ । पुराना ९ सडक आयोजनाको म्याद ३० महिनाको छ । सडक विस्तार र कालोपत्रे गरिदैं आइएको छ ।


क्लिकमान्डु