अत्यधिक आयातले ९ महिनामा ११.८५ प्रतिशतले घट्यो विदेशी सञ्चिति



काठमाडौं । अत्यधिक आयातको कारण देशको विदेशी मुद्रा सञ्चितिमा परेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असार मसान्तको तुलनामा चैत महिनासम्म आइपुग्दा विदेशी सञ्चिति अमेरिकी डलरमा ११.८५ प्रतिशतले घटेको छ ।

कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७५ चैत मसान्तमा १० खर्ब ५० अर्ब ८५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ चैत मसान्तमा ९ अर्ब ५२ करोड रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७५ चैत मसान्तमा ८ खर्ब ९७ अर्ब १३ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू ( नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेकोमा २०७५ चैत मसान्तमा १ खर्ब ५३ अर्ब ७३ करोड पुगेको छ । २०७५ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३०.३ प्रतिशत, ६५.९ प्रतिशत र ३१.१ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६.४ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।

आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा कुल वस्तु निर्यात १६.९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.२ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा कुल वस्तु आयात २१.३ प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २०.५ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७५/ ७६ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २१.६ प्रतिशतले विस्तार भई ९ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.६ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले वृद्धि भई ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २०.९ प्रतिशतले वृद्धि भई रु.७४६ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई २ खर्ब ४ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ७२ अर्ब ६७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ६८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ७९ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ६० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो ४ वर्षको नौ महिनामा १४ करोड ४१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५६ करोड ८३ लाखले घाटामा रहेको छ ।


क्लिकमान्डु