पर्यटक संख्या बढ्यो, कुन देशबाट कति आए ?



काठमाडौं । सन् २०१९ को पहिलो चार महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार अप्रिल महिनासम्ममा ४ लाख ४५ हजार १०९ जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १५.३ प्रतिशतले बढी हो ।

अध्यागमन विभागका अनुसार हवाइमार्गबाट नेपाल आउने पर्यटकको संख्या ३ लाख ६२ हजार ८४० छ । त्यस्तै, ८२ हजार २६९ पर्यटक जमिनको बाटो हुँदो नेपाल आएका थिए ।

गत वर्षको सोही अवधिको तुलना गर्दा सबैभन्दा बढी श्रीलंकन पर्यटकको संख्यामा वृद्धि भएको छ । गत वर्ष ४ महिनाको अवधिको तुलनामा ५५.१७ प्रतिशतले बढेका छन भने भारतीय पर्यटकको संख्या १९.१ प्रतिशतले बढेको छ ।

तर बंगलादेशबाट आउने पर्यटकको संख्या भने ३३.५ प्रतिशतले कमी आएको छ । तर सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या १९.२२ प्रतिशतले बढेको अध्यागमनको तथ्यांकमा उल्लेख छ । गत वर्ष सार्क मुलुकबाट नेपाल आउनेको संख्या ९७ हजार १६८ थियो ।

त्यस्तै, गत वर्षको पहिलो चार महिनाको तुलनामा २०.६४ प्रतिशतले बढेर ६४ हजार ५७८ पुगेको छ । त्यस्तै, थाइल्याण्ड, दक्षिण कोरिया र जापानबाट आउने पर्यटकको संख्यामा क्रमशः ४३.१ प्रतिशत, ७.१८ प्रतिशत र १७.२२ प्रतिशतले बढेको छ ।

त्यस्तै, युरोपिन पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ । पहिलो चार महिनामा २.७३ प्रंतिशतले बढेर ८५ हजार २७ पुगेको छ । त्यस्तै युके र जर्मनीबाट आउने पर्यटकको संख्या ३.८२ प्रतिशत तथा १९.०१ प्रतिशतले बढेको छ । तर स्पेनिस र फ्रेञ्च पर्यटकको संख्या भने ८.२१ प्रतिशत र २.६ प्रतिशतले कमी आएको छ ।

नेपाल भित्रने अमेरिकी पर्यटकको संख्या १०.८ प्रतिशतले बढेर ३२ हजार ७४० पुगेको छ । भने अष्ट्रेलियाबाट आउने पर्यटकको संख्या ३.३ प्रतिशतले बढेर १३ हजार १० पुगेको छ ।

त्यस्तै, अप्रिल महिनामा मात्रै गत वर्षको तुलनामा ५.६ प्रतिशतले पर्यटक बढेर १ लाख ४ हजार १९८ पुगेको छ ।


क्लिकमान्डु